नारायणगढ-मुग्लिन सडकमा १४ पुलको पुनर्निर्माण गरिने
चितवन,५ फागुन ।सरकारले नारायणगढ-मुग्लिन सडकखण्डका थप १४ वटा पुलकोहरुको पनि पुनर्निर्माण गर्ने भएको छ । यो खण्डमा रहेका पुलहरु जीर्ण भएर जोखिमपूर्ण अवस्थामा पुगेकाले त्यसलाई पुनर्निर्माण गर्ने योजना बनाइएको हो ।अहिले पनि केही पुलहरुको निर्माण सडक विस्तारसँगै भइरहेको छ । तर, सडक विस्तार भएपछि अहिलेको जीर्ण पुलले भार थेग्न नसक्ने भएकाले पुल निर्माणको काम पनि अघि बढाउन खोजिएको हो । त्यसका लागि सडक विभागले विश्व बैंकसँग सहयोग मागेको छ । मुग्लिन नारायणगढ सडक खण्डको विस्तारमा अहिले विश्व बैंकले नै सघाएको छ ।
आफ्ना सहयोगमा सञ्चालित सडक आयोजनाको समीक्षा गर्न विश्व बैंको टोली अहिले नेपाल भ्रमणमा छ ।मुग्लिनबाट नारायणगढसम्मका १४ वटा पुल पनि बनाउन विश्व बैंकलाई प्रस्ताव गरिएको विभागका वैदेशिक सहयोग महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए ।‘यसका लागि करिब २ अर्ब लागत अनुमान गरिएको छ,’ श्रेष्ठले भने,’हामीले राखेको प्रस्तावमा विश्व बैंक सकारात्मक छ ।’
