आज फागु पूर्णिमा हर्षोल्लासका साथ मनाइँदै,राष्ट्रपती, उपराष्ट्रपती र प्रधानमन्त्रीद्धारा शुभकामना

आज फागु पूर्णिमा हर्षोल्लासका साथ मनाइँदै,राष्ट्रपती, उपराष्ट्रपती र प्रधानमन्त्रीद्धारा शुभकामना

काठमाडौँ, १७ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन बिहीबार उल्लास र उमङ्गसाथ सभ्य, सुसंस्कृत, अनुशासित भई मर्यादापूर्वक फागुपर्व मनाइँदैछ । भगवान् विष्णुका परम भक्त प्रल्हादलाई मार्न पिता हिरण्यकश्यपुले हरप्रयास गरेपछि सम्भव नहुँदा आगोबाट भष्म नहुने वरदान पाएकी होलिकाले प्रल्हादलाई काखमा राखेर मार्ने नियत साथ आगोको ज्वालामा पस्दा होलिका मरेकी तर प्रल्हादलाई केही नभएको प्रसङ्ग यस पर्वसँग जोडिएको छ ।

यसै उत्सवमा पनि आपसमा रङ्ग छ्यापाछ्याप गरेर सिन्दुरे जात्राझैँ यो पर्व मनाउने चलन छ । भक्तपुरमा यौनजन्य गतिविधि झल्कने क्रियाकलापका साथ यो पर्व मनाइन्छ । दत्तात्रय मन्दिरको सत्तलमा भीमसेनको लिङ्ग र द्रौपदीको योनीको रूपमा काठको बडेमाको लिङ्ग र यसलाई आकार सुहाउँदो रातो कपडाको योनी बनाई समागमरत अवस्थाको झाँकी प्रस्तुत गर्दै यौनजन्य भजन गाएर यो पर्व मनाइन्छ । यहाँ अष्टमीका दिन लिङ्ग र योनीलाई नगर परिक्रमा गराई दत्तात्रय मन्दिरमा झुन्ड्याइएको छ । झुन्डिएको लिङ्ग र योनीमा अबिर दलेर यही अबिर आपसमा लगाई यहाँ पर्व मनाइन्छ । तराईमा भने फगुवा पर्वको रूपमा पूर्णिमाको भोलिपल्ट यो पर्व मनाइन्छ । हरिसिद्धिमा पुराणमा आधारित धार्मिक प्रसङ्गलाई नाच देखाएर यो पर्व मनाउने चलन रहेको पुजारी राइटर महर्जन बताउनुहुन्छ ।
काठमाडौँको नैकाप, स्युचाटार, मच्छेगाउँ, बलम्बु लगायतका स्थानमा प्राकृतिक अबिर मात्र दलेर फागुपर्व मनाउने गरिएको छ । धादिङ छत्रे देउरालीका शिवहरि लुइँटेलका अनुसार धादिङबाट बसाइँ सरेर यहाँ आएकाले सभ्य प्रकारबाट पर्व मनाउन थालेको निकै भएको छ । फागुन ११ गते अष्टमीका दिन वसन्तपुर दरबारमा फागुको चीर गाडिएपछि यो पर्व सुरु भएको भए पनि पूर्णिमाका दिन विशेष रूपमा पहाडी क्षेत्रमा र भोलिपल्ट तराईमा धुमधामसाथ मनाइन्छ ।
यसैबीच राससका अनुसार, राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली) पर्व, २०७४ का अवसरमा शुभकामना सन्देश दिँदै यस पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव एवम् राष्ट्रिय एकता कायम राख्न मद्दत पु¥याउँदै आएको बताउनुभएको छ ।
जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम सङ्गमका रूपमा रहेको हाम्रो मुलुकमा सबै नेपालीले खुसी र हर्षोल्लासपूर्वक रङ्गमा रमाएर यस पर्व मनाउने गरेको उल्लेख गर्दै उहाँले यस महान् पर्वले सबै नेपालीमा खुसीका रङ्ग छर्दै नयाँ उमङ्ग एवम् हर्षोल्लास प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
उहाँले सबै नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्ने उत्प्रेरणा हामी सबैमा प्रदान गरोस् भन्ने शुभकामनासमेत व्यक्त गर्नुभएको छ ।
यसै अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति नन्दबहादुर पुनले वसन्त ऋतुको आगमनसँगै आउने यस पर्वले नेपाली समाजलाई एक सूत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि गर्दै राष्ट्रियतालाई बलियो बनाउने उल्लेख गर्नुभएको छ ।
सन्देशमा उहाँले यस पर्वले सप्तरङ्गीजस्तै समृद्धिका विभिन्न आधारहरूको तीव्र विकासका माध्यमबाट प्रत्येक नेपालीको आर्थिक, सामाजिक रूपान्तरणसहितको समृद्ध नेपाल निर्माणको महाअभियानमा सहभागी हुन सबै नेपालीलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले फागुपूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले एक शुभकामना सन्देश दिँदै होली पर्वले नेपालीबीच सद्भाव बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सन्देशमा भनिएको छ – “फागुपूर्णिमाले सम्पूर्ण नेपालीमा उत्साह, उमंग ल्याओस् । सम्पूर्ण नेपालीमा हौसला प्रदान गरोस् । सबै समुदायका नेपालीबीच एकआपसमा भाइचारा र घनिष्टता अभिवृद्धि गर्न सहयोग पु¥याओस् । ”शुभकामना सन्देशमा उहाँले होली पर्वलाई असत्यमाथि सत्य र खराबमाथि असल पक्षको विजयका रूपमा लिइने पनि उल्लेख गर्नुभएको छ ।