उपराष्ट्रपतिमा नन्दबहादुर पुन ‘पासाङ’द्वारा उम्मेदवारी दर्ता

उपराष्ट्रपतिमा नन्दबहादुर पुन ‘पासाङ’द्वारा उम्मेदवारी दर्ता

काठमाडौं,३ चैत । नन्दबहादुर पुन ‘पासाङ’ ले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका छन्। उपराष्ट्रपति पदमा बहाल रहेका ‘पासाङ’ले   माओवादी केन्द्रबाट बानेश्वरस्थित संसद सचिवालयमा पुगेर सोही पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

सत्ताको नेतृत्वकर्ता दल एमालेको प्रस्ताव र माओवादी केन्द्रको समर्थनमा पुनले उम्मेदवारी दर्ता गराएका हुन्। उपराष्ट्रपतिको प्रस्तावकमा एमालेका सुवास नेम्वाङ र समर्थकमा पूर्व सभामुख ओनसरी घर्ती, पम्फा भुसाल, रामनारायण विडारी, रेखा शर्मा सहित ५ जना रहेका छन्।

उपराष्ट्रपतिमा पुनले दोहरिने इच्छा देखाएपछि माओवादी केन्द्रले उनको नाम सिफारिस गरेको हो। अघिल्लो कार्यकाल छोटो समयको भएको सोही पदमा दोहोर्‍याउन पुनले शीर्ष नेतृत्व समक्ष मनसाय व्यक्त गरेका थिए।

निर्वाचनलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई दोहोर्‍याउने वाम गठबन्धनका प्रमुख दुई नेताले सहमति गरेका थिए। सोही अनुसार राष्ट्रपतिमा भण्डारी निर्वाचित भइसकेकी छिन्।

भोलि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चैत ९ गते बिहान १० देखी अपराह्न ३ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ।