गोरखा रेडक्रसको २२ औं जिल्ला सभा सम्पन्न

गोरखा रेडक्रसको २२ औं जिल्ला सभा सम्पन्न

गोरखा, ३ चैत ।नेपाल रेडक्रस सोसाईटी गोरखा जिल्ला शाखाको २२ औं जिल्ला सभा आज सम्पन्न भएको छ । जिल्लाको गाँखु उपशाखाको आतिथ्यतामा भएको सभा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यलयका उपमहामन्त्री हरी प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले रेडक्रस विशुद्ध सामाजिक संस्था भएको र यसको आफ्नै विधान रहेकाले विधान बमोजिम चलिरहेको बताउनुभयो ।
गोरखामा रेडक्रसले गरेका राम्रा कामहरुबाट पाठ सिकेर अन्य जिल्लाले पनि सोही अनुसार गर्नुपर्ने बताउनुभयो । भूकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत गोरखाका साविकका ९ गाविसमा सञ्चालन भएका कामहरु नमुनायोग्य रहेको बताउनुभयो । आगामि दिनमा विभिन्न साझेदार संस्थाहरुसँग सहकार्य गरेर गोरखा जिल्ला रेडक्रसलाई अगाडि बढाउन केन्द्र र आफ्नो व्यक्तिगत तर्फबाट सकेको सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका अध्यक्ष अशोक कुमार गुरुङले रेडक्रसले जिल्लामा के के काम गर्न लागेको छ भनेर आफूले माग गरे अनुसार संस्थाले जानकारी दिएको र कतिपय कार्यक्रमहरुको अनुगमन गर्दा धेरै जनता लाभान्वित हुने अति राम्रा कामहरु गरेको पाएको बताउनुभयो । रेडक्रसबाट भएका कामहरुबाट आफू प्रभावित रहेको उहाँको भनाई छ । आगामि दिनमा अन्य क्षेत्रमा समेत कार्यक्रम विस्तार गर्न उहाँले सुझाव दिनुभयो ।
नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला सभापति मनोज थापा मगरले रेडक्रस विधि र विधानमा चल्ने संस्था भएकाले सबैले सोही अनुसार काम गर्नुपर्ने बताउनुभयो । विपद्को समयमा सबैजना मिलेर काम गर्नुपर्ने संस्था भएकाले यो साझा संस्था भएको उहाँको भनाई छ ।
नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय पार्सद सुर्य प्रसाद ढकालले गोरखामा भूकम्प गएको केही समय भित्रै भूकम्प प्रभावित गाउँ वारपाकमा गैर खाद्य सामग्री सहित उपस्थित हुने संस्था रेडक्रस भएको बताउनुभयो । आफै आएर यहाँका भूकम्प पिडितहरुको उद्धार र राहत प्रदानमा सहयोग गरेको उहाँले स्मरण गर्नुभयो । विपदका समयका लागि रेडक्रसका हामी सबैको साथी रहेको उहाँले बताउनुभयो ।

सिरान्चोक गाउँपालिका प्रमुख राजु गुरुङले गाउँपालिका भित्र रहेका ८ वटा वडा मध्ये ५ वडामा रेडक्रसको कार्यक्रम लागु भएकोमा खुशी व्यक्त गर्दा योजनाहरु छनौट गर्ने लगायतका कामहरु रेडक्रसले जसरी सबै संघ संस्थाहरुले स्थानीय स्तरमा दिनुपर्ने बताउनुभयो । उपशाखाबाट योजना छनौट तथा सिफारीस हुँदै गर्दा वडा र गाउँपालिका तहबाट समन्वय भईरहेकाले यस गाउँपालिकामा भएका रेडक्रसका गतिविधिहरु मनन योग्य रहेको बताउनुभयो ।
कार्यक्रममा आरुघाट गाउँपालिका उप–प्रमुख कल्पना नेपालीले रेडक्रसको २२ औं जिल्ला सभाले आगामि वर्षका लागि राम्रा कार्यक्रमहरु सिफारीस गरोस भन्दै शुभकामना दिनुभयो । यसैगरी सिरान्चोक गाउँपालिका वडा अध्यक्ष नारायण दानीले रेडक्रसका कामहरु अत्यन्त समय सान्दर्भिक र धेरै जनसंख्या समेट्ने गरी ल्याएको बताउनुभयो । संसारी माविका प्रधानाध्यापक भोजराज कोइरालाले आफ्नो विद्यालयको प्राङ्गणमा जिल्ला सभा भएकोमा खुशी व्यक्त गर्नुभयो ।कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी गोरखा जिल्ला शाखा अन्तर्गत रहेका २५ उपशाखाबाट ५ जनाका दरले १२५, जिल्ला कार्य समिति, अतिथिहरुको सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाईटीका सभापति भगवानबाबु मास्केको अध्यक्षतामा भएको कार्यक्रममा गाँखु उपशाखाका सभापति सुरेन्द्रबाबु पन्तले शुभकामना मन्तव्य राख्नुभएको थियो । जिल्ला कार्य समितिका उप सभापति मोहन ढकाल, शंंकर बहादुर कुँवरले क्रमश ः उद्घाटन र बन्द सत्रमा धन्यवाद मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा राम्रो कार्य सम्पादन गर्ने उत्कृष्ट उपशाखा रानीश्वाँरालाई नगद रु पाँच हजार र प्रमाणपत्र साथै रेडक्रसका ६ जना यशस्कर सदस्यहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
यसैवीच २२ औं जिल्ला सभाले आगामि वर्ष ०७५÷०७६ का लागि मन्त्रीद्वारा प्रस्तावित कार्यक्रम कोषाध्यक्षबाट आर्थिक प्रतिवेदन प्रस्तत भएको थियो । सभाले सुझाव सहित दुवै प्रतिवेदन पास गरेको छ । कार्यक्रम गोरखा जिल्ला शाखाका मन्त्री राजेन्द्र न्यौपानेको सञ्चालन र जिल्ला सभापति भगवानबाबु मास्केको अध्यक्षतामा सम्पन्न भएको हो ।