लघु कथा : पुरानो किल्ला

लघु कथा : पुरानो किल्ला

 

  • योगेश घिमिरे

कहिलेकाही यसै बरालिनु बहुत आनन्ददायी हुन्छन् । गन्तव्य बिनाको यात्रा , न कहि बाटो बिराउने चिन्ता , न कुनै समय सिमा ।

तपाईं हिड्नुभएको छ यसरी ?

सुन्नुस म एउटा कथा सुनाउछु । यो कथामा एकादेश छैन, राजा, रानी, राक्षस, भूत केही छैन । मात्र एउटा फकिर छ, जो अनिश्चयको यात्रामा निस्किएको छ ।

एक साँझ फकिरलाई साह्रै दिक्दारिले सताउछ । उ जुरुक्क उठ्छ, र हिड्न थाल्छ। उ दायाँ बायाँ कहाँ जानुपर्ने केही सोच्दैन । उ उतै हिडिरहन्छ जहाँ उसको पैतालाले उसलाई डोह्राउछ । धेरै दिनको यात्रा पछि उ एउटा पुरानो किल्लामा पुग्छ । खन्डहर जस्तो लाग्ने किल्ला ।

मैले भने नि, यहाँ राजा रानी केही छैनन ।

अँ, कथा सुनाउदै थिएँ । सुन्नुस !

फकिर त्यो किल्ला भित्र छिर्न खोज्छ । ढोकामा पुग्नैलाग्दा उसले एउटा सर्प देख्छ । उसले पहिले सर्पलाई नमस्कार गर्छ, छेवैको रुखको सुकेको हाँगा उठाउछ, र सर्पलाई….

बुझ्नुभयो नि ?

फकिर एकैछिन रोकिन्छ र सोच्छ, कति सहज छ है मृत्यु ? फेरि किन डराउछन सबै मृत्युसँग ।

फकिर किल्लामा छिर्छ । किल्ला भित्र एउटा ठूलो तर जिर्ण महल छ ।
एकछिन सोच्नुस, त्यो महल भित्र के होला ?

सोच्नु’भो ?

अब सुन्नुस ! त्यो किल्ला भित्र एउटा ठूलो अचानो छ । त्यस माथी छ एउटा रगतले लतपत तरबार । त्यसको एक छेउमा छ, एउटा टाउको नभएको शरीर । अर्को छेउमा छ, फकिरको जस्तै देखिने टाउको ।

मैले सुरु’मै भनेँ नि । यस कथामा भुत छैन ?

त्यसो त फकिर को थियो ?