विनाशकारी गोरखा भूकम्पको तीन वर्ष पुरा, आधा मात्र भौतिक संरचना निर्माण

विनाशकारी गोरखा भूकम्पको तीन वर्ष पुरा, आधा मात्र भौतिक संरचना निर्माण

काठमाडौं, १२ बैशाख । विनाशकारी गोरखा भूकम्पको आज ३ वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि वैशाख १३ गते र २९ गते सिन्धुपाल्चोक र दोलखा केन्द्रविन्दु भएर गएका ठूला परकम्पले १४ जिल्लामा ठूलो क्षति पुर्‍याएको थियो ।

भूकम्पमा झण्डै ९ हजार नागरिकले ज्यान गुमाएका थिए भने हजारौं घाइते भएका थिए । ७ लाख ६७ हजार घर भत्किएका थिए भने ७ सय ५३ वटा पुरातात्विक संरचनामा क्षति पुगेको छ । सरकारले भूकम्पमा घर भत्किएका प्रभावितलाई ३ चरणमा ३ लाख रुपैयाँ अनुदान दिने घोषणा गरेपनि अहिलेसम्म आधाले पनि त्यो रकम पाउन सकेका छैनन् । भूकम्प गएका ३ वर्षमा राष्ट्रिय पुननिर्माण प्राधिकरणमा ४ पटक गरि ३ वटा प्रमुख कार्यकारी अधिकृत फेरिएपनि पुनर्निर्माणको काम नसकिएको भन्दै आलोचना पनि हुँदै आएको छ ।

तीन वर्षमा झन्डै एक लाख निजी घर बने पनि विद्यालय, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदा तथा सरकारी भवनको पुनर्निर्माण अत्यन्तै लाजमर्दो अवस्थामा छ ।

पुनर्निर्माण प्राधिकरणका अनुसार यो तीन वर्षको अवधिमा १ लाख १९ हजार २ सय २९ निजी घरको पुनर्निर्माण भएको छ ।

यो संख्या कुल लाभग्राही सूचीमा सूचीकृत सात लाख ६७ हजार ७०५ को करिब १५ प्रतिशत मात्र हो । यसबीचमा ४ लाख ३० हजार घर निर्माणको चरणमा रहेको प्राधिकरण बताउँछ ।

भूकम्प गएको तीन वर्षको अवधिमा पुनर्निर्माण गर्नुपर्ने सूचीमा रहेका ७ हजार ५ सय ८३ विद्यालयमध्ये ३ हजार ६ सय १५ को पुनर्निर्माण सम्पन्न भएको छ ।

त्यस्तै, १ हजार १ सय ९७ स्वास्थ्य संस्थामध्ये ५ सय ८६ र ७ सय ५३ सांस्कृतिक सम्पदामध्ये सय वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको प्राधिकरणको तथ्यांक छ ।

भूकम्पपीडितका लागि सरकारले दिने घोषणा गरेको सहुलियत ऋण अझै पनि टुंगो लाग्न सकेको छैन ।

आर्थिक वर्ष २०७३÷७४ को बजेट वक्तव्यमा विपन्न वर्गका लाभग्राहीलाई अनुदानबाहेक तीन लाख रुपैयाँ निब्र्याजी ऋण सुविधा उपलब्ध गराउने घोषणा गरिएको थियो ।

त्यसअनुसार करिब एक वर्षअघि नै सरकारले सामुहिक जमानीमा तीन लाख रुपैयाँ निब्र्याजी ऋण उपलब्ध गराउने कार्यविधि समेत ल्याएको थियो ।

कार्यविधिलाई संशोधन गरेर गत कात्तिकमा सामूहिक तथा धितो जमानीमा ऋण लिन पाउने व्यवस्था गरिए पनि लाभग्राहीले अझैसम्म यो सुविधा पाउन सकेका छैनन् ।

पुनर्निर्माणमा १ खर्ब १९ अर्ब खर्च, अझै १ खर्ब ६० अर्ब आवश्यक

१२ वैशाख ०७२ को भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि अझै १ खर्ब ६० अर्ब रुपैयाँ आवश्यक पर्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार पुनर्निर्माणमा अहिलेसम्म १ खर्ब १९ अर्ब २० करोड रुपैयाँ खर्च भइसकेको छ । यसमध्ये ठूलो हिस्सा नेपाल सरकारको आफ्नै स्रोतबाट खर्च भएको छ ।

पुनर्निर्माण सम्पन्न गर्न दाताले दिएको प्रतिबद्धता, सम्झौता तथा खर्च भइसकेको रकमबाहेक थप १ खर्ब ६० अर्ब आवश्यक पर्ने प्राधिकरणका सिइओ युवराज भुसालले बताए ।

‘आगामी असारमा प्राधिकरण गठन भएको साढे दुई वर्ष पुग्नेछ, प्राधिकरणले पनि त्यसवेलासम्म कम्तीमा आधा काम सम्पन्न गर्नेछ,’ उनले भने । पछिल्लो समय पुनर्निर्माणका लागि स्रोतको अभाव नभएको पनि दाबी गरे । ‘दाता सम्मेलन गरेर या कसरी हुन्छ, थप स्रोत जुटाउने जिम्मा नेपाल सरकारको हो,’ सिइओ भुसालको भनाइ छ ।