ईच्छाकामनामा भुकम्प प्रभावितको घर निर्माण तिब्र

ईच्छाकामनामा भुकम्प प्रभावितको घर निर्माण तिब्र

नारायण ढुंगाना
ईच्छाकामना, २२ वैशाख  ।चितवनको सात स्थानीय तह मध्ये ईच्छाकामना गाउँपालिकामा भुकम्प प्रभावितको घर निर्माण कार्य तिब्र रुपमा अघि बढेको छ ।

अन्य स्थानीय तहमा विभिन्न कारणले घर निर्माण रोकिएका बेला ईच्छाकामनामा भने काम प्रभावकारी रुपमा अघि बढेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार) कार्यालयका शाखा प्रमुख राजेन्द्र कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा दोस्रो किस्ता लिने भुकम्प प्रभावितको संख्या कुल ७९८ छ । जसमा ईच्छाकामना गाउँपालिकाका मात्रै ६३९ जनाले दोस्रो किस्ताबापतको रकम लिईसका छन् ।

कुल १ हजार ९५८ भुकम्प प्रभावितले पहिलो किस्ता लिएका मध्ये ईच्छाकामनाका थप ४७६ जना प्रभावितको सिफारिस भैसकेकाले उनीहरुपनि दोस्रो किस्ता लिने तयारीमा रहेको सोही क्षेत्रका ईन्जिनियर विजयराज न्यौपानेले बताउनुभयो ।

‘छोटो समयमा हामीले दिन रात नभनि काम गरेकाले यो परिणाम आएको हो,’ न्यौपानेले भन्नुभयो ।

अरु ६ वटा स्थानीय तहमा गरेर जम्मा १५९ जनाले मात्रै दोस्रो किस्ता लिएको तथ्यंकमा उल्लेख छ । ईच्छाकामना बाहेक जिल्लाका ६ वटै स्थानिय तहमा दोस्रो किस्ता लिने १०० कटेका छैनन् ।

ईचछाकामनाका ३,४ सय घर ऐलानी जग्गाकै कारण निर्माणका कठिनाई भएको भन्दै अर्का ईन्जिनियर शिव भुषाल गाउँपालिकाले मुचुल्का उठाएर दिए उनीहरुको पनि घर बनाउन आफुहरु तयार रहेको बताउनुहुन्छ ।

बाँकी पिडितहरुको भने ऐलानी, सुकुम्बारी, स्वामित्व नभएका, बस्ती सार्नुपर्ने, प्रक्रियामा त्रुटी लगायत कारणले समस्या भएको प्राधिकरणले जनाएको छ । सो विषयमा गाउँपालिकासँग छलफल भैरहेको छ ।

ईच्छाकामना गाउँपालिका वडा नम्बर ७ का स्थानिय शिक्षक ऋषिराम ढकाल ऐलानी जग्गाका कारण धेरैले घर बनाउन नपाएको गुनासो गर्नुहुन्छ ।

ईच्छाकामनाका धुषाको ३१ घर, हेप्चेकका ११ घर, कुँयलघारीका ३६ घर र तीनघरेका ५ घर स्थानान्तरणको प्रक्रियामा छ । यता भरतपुर महानगरका पहिलो किस्ता लिने ५९० मध्ये ५१ जनाले दोस्रो किस्ता पाएको छ ।

यस्तै कालिका नगरपालिकाका ५६५ मध्ये १७ जनाले, राप्तीका १ हजार १५५ मध्ये १३ जनाले, रत्ननगरका पहिलो किस्ता लिने ६२२ मध्ये ७१ जना, खैरहनी नगरपालिकाका ४९८ मध्ये ६ जना र माडीका २२ जनाले पहिलो किस्ता लिएकामा दोस्रो किस्ता लिने शुन्य रहेको तथ्यंक छ ।