सडक सुरक्षाका लागि नारायणगढ–मुग्लिन सडक खण्डमा अत्याधुनिक उपकरण जडान

सडक सुरक्षाका लागि नारायणगढ–मुग्लिन सडक खण्डमा अत्याधुनिक उपकरण जडान

चितवन, ६ साउन । नारायणगढ मुग्लिन सडक खण्डमा सडक सुरक्षा लागि दुई ठाउँमा अत्याधुनिक सडक सुरक्षा उपकरण जडान गरेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार चीनको सिचुवानमा रहेको च्याङ्डु जिकुवान हाइवे फ्यासिलिटी म्यानुफ्याक्चरिङ कम्पनी लिमिटेडले ५०० मिटर सडकको किनारमा निःशुल्क रुपमा केवल बेरियर सिस्टम जडान गरिदिएको हो । चितवनको इच्छाकामना ५ स्याउली बजारमा   २०० मिटर र वडा न ६ पाँचकिलोमा ३०० मिटर केवल बेरियर सिस्टम जडान गरिएको हो ।

नेपालमा पहिलो पटक जडान गरिएको सो केवल विश्वका अन्य राष्ट्रहरुमा प्रयोग हुँदै आएको छ भने ३० टनसम्मको सवारी साधनलाई रोक्न सक्ने क्षमता भएकाले यो पद्धति उपयुक्त हुने उनले बताए । झण्डै ४० हजार डलरबराबरको काम चिनियाँ कम्पनीले निःशुल्क गरिदिएको हो ।

नेपालमा यस्ता सडकमा प्रयोग हुने स्टिलको पाताबाट गरिने डब्लुबिएम पद्धतिभन्दा आधा सस्तो हुने र मर्मत गर्न सहज हुने जानकारी दिँदै इञ्जिनियर खनालले नेपालमा हालसम्म डब्लु बिएम मेटल क्र्यास बेरियर र न्यू जर्सी क्र्यास बेरियर प्रयोग गर्ने गरिएको बताए । ती बारले ठूलो क्षमताका सवारी साधनलाई धान्न नसक्ने भएकाले समय समयमा दुर्घटना हुने गरेका छन् ।
विस्तारको अन्तिम चरणमा पुगेको नारायणगढ–मुग्लिन सडकमा यतिबेला सडक सुरक्षाका काम भइरहेका छन् ।

तस्बिर  / नारायणगढ–मुग्लिन सडक आयोजना