सरकार र डा.केसीका प्रतिनिधिबीच आज पनि वार्ता हुदैँ, जुट्ला त सहमती ?
काठमाडौँ, ९ साउन । सरकार र अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिबीच आज पनि वार्ता हुँदैछ। हिजो साँझ भएको वार्ता सकरात्मक भएपछि आज पुन वार्ता बस्ने सहमती भएको हो । विचाराधीन विधेयक परिमार्जन गरी केसीले उठाएका विषय सम्बोधन कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ ।
आज बिहान ९ बजेदेखि पुनः छलफल सुरु हुँदैछ।केसीले उठाएका मुख्य मागहरूमा मंगलबार पनि छलफल भएको थियो। उपत्यकामा दश वर्षसम्म मेडिकल कलेज खोल्न दिने वा नदिने, एक विश्वविद्यालयले पाँचभन्दा कलेजलाई सम्बन्धन दिनेरनदिने लगायतका मूल विषयमा सहमति भएका छैनन्।
दुवै पक्षबीच मंगलबार विधेयक परिमार्जनको मस्यौदा भने साटासाट भएको छ। सरकारी वार्ता टोलीले विधेयकमा परिमार्जन गर्न सकिने विषय केसी पक्षलाई दिएको छ। केसी पक्षले आफ्ना माग सम्बोधन कसरी गर्न सकिन्छ भन्ने विधेयकमाथिको सुझाव सरकारी टोलीलाई दिएको छ।
अनशनले राजनीतिक रुप लिएको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वयको निर्देशनमा पछिल्ला दिनमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई वार्ताको वातावरण बनाउन निर्देशन दिएका थिए। नेम्वाङले केदारभक्त माथेमा तथा माथेमा कार्यदलका सदस्यहरू, मेडिकल काउन्सिलका वर्तमान तथा पूर्व प्रमुखहरूसँग समेत अनौपचारिक छलफल गरेका थिए।
सो छलफलपछि सरकारको आधिकारिक प्रतिनिधित्व गरेर शिक्षा सचिव खगराज बरालले सरकारी वार्ता टोलीको नेतृत्व गरेका छन्।
मंगलबारको वार्ता सकारात्मक भएपछि दुवै पक्षले आज सहमति हुन सक्ने जनाएका छन्।
योसँगै डा.केसीको अनसन पनि आज नै तोडिनसक्ने सम्भावना रहेको वार्तामा बसेका एक सदस्यले जनाए।
