आगमन कल बाइपास गर्ने तीन जना विरुद्ध मुद्दा

आगमन कल बाइपास गर्ने तीन जना विरुद्ध मुद्दा

चितवन, १० साउन । अन्तर्राष्ट्रिय आगमन कल बाइपास गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरी मुद्दा दर्ता गरेको छ ।रुपन्देही तिलोत्तमा नगारपालिका–११ का ३१ वर्षीय विजय गुरुङ, सोही स्थान का ३२ वर्षीय मीनप्रसाद रिजाल र भरतपुर महानगरपालिका–२२ का २२ वर्षीय सुनिल अधिकारीलाई दूर सञ्चार ऐन २०५३ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई विभिन्न मितिमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार गुरुङ र अधिकारीलाई भरतपुर महानगरपालिका–१० रिजालचोकबाट नियन्त्रणमा लिइएको हो । उनीहरुले उक्त ठाउँबाट कलबाइपास गर्दै आएको प्रहरीले जनाएको छ ।

यस्तै रिजाललाई बुटवलबाट पक्राउ गरिएको हो । अन्तर्राष्ट्रिय कल बाइपास सञ्चालन गर्ने कार्यमा संलग्न रहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।