१८ औँ एसियाड फुटबल : नेपाल आज भियतनामविरुद्ध उत्रिँदै, जित्नैपर्ने दबाब
चितवन, ३१ साउन । १८औं एसियाड खेलकुदअन्तर्गत आज नेपालले समूह चरणको दोस्रो खेलमा भियतनामको सामना गर्दैछ । खेल विभाहा मुक्ति रंगशालामा नेपाली समयअनुासर आज साँझ ६ बजेपछि सुरु हुँदैछ ।
यसअघि भएको पहिलो खेलमा नेपाल जापानसँग १–० ले पारजित भएको थियो । आज नेपालले दोस्रो खेलमा भियतनामविरुद्ध स्पष्ट जितका लागि खेल्नेछ ।
पराजित भए पनि नेपालले जापानविरुद्ध उत्कृष्ट खेल खेलेको थियो । नेपाल आज सोही प्रदर्शनलाई कायम राख्दै पहिलो जितको खोजीमा हुनेछ ।
यता, भियतनामले पनि पहिलो खेलमा पाकिस्तानमाथि ३–० को जित निकालेकाले आज उसले नेपाललाई हराएर अर्को चरण प्रवेश गर्न चाहन्छ । नत्र, उसलाई अन्तिम खेलमा जापानलाई हराउनुपर्ने हुन्छ ।
यता, आजको खेलमा नेपालले भियतनामलाई हरायो र अन्तिम खेलमा पाकिस्तानलाई हरायो भने नेपाल अर्को चरण प्रवेश गर्नेछ ।
आजै समूहको अर्को खेलमा जापान र पाकिस्तान भिड्दैछन् । उक्त खेलमा जापान विजयी भए अर्को चरण प्रवेश गर्नेछ भने सँगै उसको जितबाट नेपाल र भियतनाम दुवैलाई फाइदा पुग्नेछ ।
