चोरीको घटना बढ्दै चितवनमा १२ वटा चोरीमा ९ जना चोर समातिए

चोरीको घटना बढ्दै चितवनमा  १२ वटा चोरीमा ९ जना चोर समातिए

चितवन, २६ मंसिर । चितवनमा पछिल्लो आठ महिनाको अवधिमा विभिन्न १२ वटा चोरीका घटनामा नौ जना मानिस पक्राउ परेका छन् । गत वैशाखदेखि चितवनमा विभिन्न १२ वटा चोरीका घटना भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवनमा सुनचाँदी, नगद, गरहगनाका साथै सिसि क्यामेरा, टेलिभिजन तथा मदिरा समेत चोरी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । जिल्लामा १२ वटा चोरीको मुद्दा दर्ता भएकोमा २२ जना मानिस पक्राउ गरिएको भएपनि केही व्यक्तिहरु पटके चोरीमा पक्राउ परेका रेग्मीले बताएको नमस्ते बिहानी साप्ताहिकमा खबर छ । ‘प्रहरीमा दर्ता भएको मुद्दाका आधारमा २२ जना मानिस पक्राउ भएको तथ्यांकले देखाएको छ’ रेग्मीले भने, –‘खासमा पक्राउ परेका मानिस नौ जना मात्रै हुन्, एउटै व्यक्ति चार पाँच वटा मुद्दामा पक्राउ परेकाले पक्राउ पर्ने मानिसको संख्या धेरै देखिएको हो ।’
गत वैशाखदेखि साउनसम्म चार महिनाको अवधिमा चितवनका विभिन्न पाँच ठाउँमा सुनचाँदीका गरगहना चोरी भएको भनेर प्रहरीमा उजुरी परेका थिए । जसमध्ये प्रहरीले आठ जना मानिसलाई पक्राउ गर्न सफल भयो । सुनचाँदीका गरगहना चोरीको घटनामा संलग्न आरोपमा पक्राउ परेका मध्ये पाँच जना मानिस पुर्पक्षका लागि थुनामा पठाइएको रेग्मीले जानकारी दिए ।
त्यस्तै असार ३० गते मदिरा, नगद र रिचार्ज कार्ड चोरीको आरोपमा पक्राउ परेका दुई जना व्यक्ति धरौटीमा रिहा भएका छन् । गत जेठमा भरतपुर ७ मा ६ वटा सिसि क्यामेरा तथा टेलिभिजन चोरीको आरोपमा पक्राउ परेका दुई जना व्यक्ति समेत धरौटीमा रिहा भएका प्रहरीले जनाएको छ । त्यस्तै, साउन, भदौ र असोजमा नगद चोरीको आरोपमा पक्राउ परेका पाँच जना व्यक्तिलाई समेत चितवन जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएको थियो ।
प्रहरीले पछिल्लो समय २२ जना मानिस पक्राउ गरेकोमा पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाएको भएपनि बाँकी १७ जना धरौटीमा रिहा भएका छन् । चितवनलाई शान्त र सुरक्षित वनाउनका लागि प्रहरीले थ्री एस अप्रेशन सञ्चालन गरेको छ । थ्री एस अप्रेशनका क्रममा चोरी र लुटपाटमा संलग्न व्यक्तिलाई पक्राउ गरि कानुनी कारबाहीमा ल्याइएको प्रहरीले जनाएको छ ।
जिल्लामा चोरीका घटनाहरु नियन्त्रणमा ल्याउनका लागि प्रहरीले जिल्लाका विभिन्न स्थानमा निगरानी बढाएको छ । चोरी हुन सक्ने ठाउँमा सादा पोशाकका प्रहरी परिचालन गर्नुका साथै प्रहरीले मोबाइल गस्तीलाई समेत बढाएको जनाएको छ ।