चितवनमा पनि परिचय पत्र वितरण सुरु

चितवनमा पनि  परिचय पत्र वितरण सुरु

चितवन, ०६ पुष । राष्ट्रिय परिचय पत्र वितरण प्रकृया चितवनमा सुरु भएको छ । दोस्रो चरण अन्तर्गत देशका १५ जिल्लामा वितरण गरिने परिचयपत्रको काम चितवनमा सुरु भएको हो ।
शुक्रबार भरतपुरमा आयोजना गरिएको राष्ट्रिय परिचय पत्र वितरण सम्बन्धी अन्तरक्रियासँगै चितवनमा परिचय पत्र वितरणको प्रकृया सुरु भएको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले जनाएको छ । दोस्रो चरण अन्तरगत परिचय पत्र वितरण गरिने १५ जिल्लामा यही पुष महिना भित्र अन्तरक्रिया सकेर आगामी चैतसम्म राष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्ने स्टेशनको स्थापना गरिसक्ने विभागका महानिर्देशक दिपक काफ्ले बताए । चितवन सहित १५ जिल्लाका नागरिकले यसै आर्थिक वर्षभित्र वायो मेट्रिक प्रणालीमा निर्माण गरिने राष्ट्रिय परिचय पत्र प्राप्त गर्ने काफ्लेको भनाइ छ ।
अन्तरक्रियामा प्रदेश नम्बर ३ का शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहालले राष्ट्रिय परिचयपत्र सम्बन्धी बनेको निर्देशिकामा ६ महिना नेपालमा बसेको विदेशी नागरिकले यो परिचय पत्र पाउने भन्ने लेखेकोले यसलाई सच्याउनुपर्ने बताए । अन्य मुलुकमा विदेशी नागरिकले परिचयपत्र पाउन कम्तिमा पनि पाँच वर्ष कुर्नुपर्ने भएकाले नेपालमा मात्रै चाँडै प्रदान गर्ने व्यवस्थाले समस्या निम्त्याउन सक्ने दाहालको भनाइ थियो । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले व्यक्तिको सम्पूर्ण विवरण उल्लेख गरिएको वायो मेट्रिक परिचयपत्रले सहजता ल्याउने बताए ।