भरतपुर महानगरपालिकाको नगर सभा सम्पन्न, उत्कृष्ट कर्मचारी सम्मानित

भरतपुर महानगरपालिकाको नगर सभा सम्पन्न, उत्कृष्ट कर्मचारी सम्मानित

चितवन,१० पुष । भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय भरतपुर चितवनको तेस्रो नगर सभा मंगलबार सम्पन्न भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सभाहलमा सम्पन्न नगर सभामा प्रस्तुत बजेट आवश्यक संशोधनसहित पारित भएको छ । नगर सभामा उत्कृष्ट कर्मचारी र संघसंस्थालाई सम्मानित गरिएको छ ।

नगर सभालाई सम्बोधन गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुरलाई नमुना शहर बनाउने उद्घोष गर्नु भएको छ । आफ्नो एकमात्र स्वार्थ भरतपुर महानगरपालिकाको सर्वाङ्गीण विकास गर्नु रहेको बताउँदै उहाँले भरतपुर महानगरपालिकालाई नमुना सहर बनाउने अभियानमा सबै जनप्रतिनिधिहरूको उत्तिकै सक्रियता हुनु पर्ने धारणा राख्नुुभयो । सेवामा प्रभावकारिता, गुणस्तरियता, दिगो र आत्मनिर्भर विकास, भौतिक पूर्वाधार निर्माण भरतपुर महानगरपालिकाको प्राथमिकता रहेको भन्दै प्रमुख दाहालले जनप्रतिनिधि, कर्मचारी र नगरवासीको सामुहिक सक्रियतामा भरतपुरलाई साँच्चिकै नमुना बनाउन सकिन्छ भन्नेमा आफू विश्वस्त रहेको धारणा राख्नुभयो ।

महानगरपालिकाले बनाउने ऐनकानुन समयसापेक्ष संशोधन र परिमार्जन हुदैँ जाने बताउँदै उहाँले अन्य कानुनहरू पनि निर्माण गर्दै जाने बताउनु भयो । प्रमुख दाहालले भरतपुर महानगरपालिका, प्रदेश सरकार, संघीय सरकार मातहातका निकायहरूबाट अर्बौंको विकास निर्माणका कामहरू अगाडि बढिरहेको जानकारी दिँदै ती योजनाहरू समयमै गुणस्तरीय ढंगले सम्पन्न गर्न सहजीकरण र अनुगमन गर्न जनप्रतिनिधि तथा कर्मचारीहरूलाई निर्देशन दिनुभयो । भरतपुर महानगरपालिकाले आगामी बर्षहरूमा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको गुणात्मक विकासका लागि विशेष योजनाहरू निर्माण गरिरहेको उहाँले बताउनु भयो ।

भरतपुर महानगरपालिकाले आफ्नो भावी कार्यदिशामा स्मार्ट सिटीको गुरुयोजना, ठूला पूर्वाधार योजनाहरुको कार्यान्वयन, वडा कार्यालयहरुको सशक्तिकरण, राजश्व प्रशासनमा प्रविधिको प्रयोग र प्राथमिकता, महानगरव्यापी सरसफाई कार्यक्रमलाई उल्लेख गरेको छ । शिक्षा, स्वास्थ्य, कृषि तथा पशु, सहकारी क्षेत्रको उचित सरोकार एवं समन्वय, सहकार्य, सिकाई, गुणस्तर कायम र भएका कामको प्रचारप्रसारलाई पनि भावी कार्यदिशामा समेटिएको छ ।
सभामा वडा नम्बर १० का अध्यक्ष तथा महानगरका प्रवक्ता अरूण पीडित भण्डारी, वडा नम्बर २१ का अध्यक्ष चित्रसेन अधिकारी, वडा नम्बर २ का अध्यक्ष पूर्णबहादुर श्रेष्ठ, वडा सदस्यहरू किशोर पौडेल, राममाया पिया लगायतले आआफ्नो धारणा राख्नु भएको थियो । सभामा महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी र प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले नगर सभासदहरूले उठाएका जिज्ञासाहरूको बारेमा धारणा राख्नु भएको थियो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाको फोहरमैला व्यवस्थापनमा सहयोग गरे वापत वे ग्रुप, ट्राफिक व्यवस्थापनमा सहयोग गरे वापत जिल्ला प्रहरी कार्यालय चितवन, उत्कृष्ट कर्मचारी जगन्नाथ अर्याल, महानगरपालिकाका प्राविधिकबाट कृष्णबहादुर ठकुरी, प्रविण श्रेष्ठ, नगर प्रहरी भिमबहादुर गुरूङ, नासु अनिता श्रेष्ठ, २६ नम्बर वडा सचिव चुडामणी भण्डारी, कर्मचारी रामप्रसाद हुमागाई, उत्कृष्ट टोल विकास संस्था लगायतलाई सम्मान गरिएको थियो ।