याकराङ्गमा तमू ल्होसारको अवसरमा बृहद् सांस्कृतिक कार्यक्रम हुने

याकराङ्गमा तमू ल्होसारको अवसरमा बृहद् सांस्कृतिक कार्यक्रम हुने

इच्छाकामना, १२ पुष । गुरुङ समुदायको महान् पर्व तमू ल्होसारको अवसरमा चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको पर्यटकीय गुरुङ गाउँ याकराङ्गमा यस वर्ष पनि बृहद् सांस्कृतिक कार्यक्रम हुने भएको छ । यहि पौष १५ गते परेको गुरुङ समुदायको महान पर्व तमु ल्होसारको अवसरमा यस वर्ष याकराङ्ग गाउँमा विविध साँस्कृतिक कार्यक्रम सहित भव्य रुपमा मनाउन लागेको तमु ल्होसार मूल आयोजक समिति संयोजक एवं तमु प्ये ल्हु संघ इकाइ समिति याकराङ्गका अध्यक्ष देव कुमार गुरुङले जानकारी दिनुभयो ।

यस वर्ष राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने संयोजक गुरुङले बताउनुभयो । कार्यक्रममा सुमन आले, शित्तल गुरुङ, कल्पना गुरुङ लगायतका कलाकारहरुको प्रस्तुती रहनेछ । कार्यक्रमको सह–आयोजकमा तमु प्ये ल्हु संघ इकाई समिति याकराङ्ग, गुम्बा विकाश समिति, याकराङ्ग, सिद्धिविनायक साँस्कृतिक युवा समाज याकराङ्ग छन् ।
चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने यो गुरुङ गाउँ पुग्न मुग्लिन–नारायणगढ सडक खण्डको जलविरेमा झरेर करिब आधा घण्टाको कच्चि सडकको यात्रा पछि पुग्न सकिन्छ । ९५ प्रतिशत गुरुङ समुदायको मात्र बसोबास रहेको यो गाउँमा हाल एक दर्जन घरहरुमा होम स्टेको व्यवस्था गरी पर्यटन प्रवद्र्धन लागिरहेको छ । कुनैबेला घाँटुसरी नाच नचाउने गाउँको रुपमा परिचित याकराङ्ग पछिल्लो समय भने चुट्का र झ्याउरे नाच नाच्ने गरिन्छ । यो गाउँ आउदा चितवन कै सबैभन्दा लामो झरनाको अवलोकनका साथै स्थानीय परिकारको स्वादमा स्थानीय मौलिक नाँचगानको मज्जा लिन सकिन्छ ।
याकराङ्ग गाउँमा तमू ल्होसारको अवसरमा हरेक बर्ष विविध सांस्कृतिक कार्यक्रम हुदैँ आएको छ ।