आज गुरुङ समुदायले ल्होसार मनाउदैँ, राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

आज गुरुङ समुदायले ल्होसार  मनाउदैँ, राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

काठमाडौं,पुस १५ । गुरुङ समुदायले पुरानो वर्षको बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो।

यसअवसरमा  काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरिने गुरुङ समाजले जनाएको छ। यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसारका अवसरमा शुभकामना सन्देश दिएका छन् ।

राष्ट्रपति भण्डारीले दिएको शुभकामना सन्देशमा तमु ल्होसार जस्ता राष्ट्रिय पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन मद्दत गरेको उल्लेख छ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना सन्देश दिँदै धर्मनिरपेक्ष हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण रहेको र सबै चाडपर्वको आफ्नै मौलिक विशेषता रहेको बताएका छन्।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समाजमा रहेका सम्पूर्ण विभेद र असमानता हटाउन लागि परेको बताए। उनले विविधतामा खेलेर द्वन्द्वको विजारोपण गर्ने तत्व विगतमा धेरै सक्रिय भए तर नेपालीको एकताले त्यस्ता तत्वको प्रयास कहिल्यै सफल हुन नसकेको भन्दै अब आर्थिक विकास र समृद्धिको यात्रा सरकारले प्रारम्भ गरेको स्पष्ट पारेका छन्।