आज नेकपा कार्यदलको बैठक बस्दै
काठमाडौं,१६ पुस । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एकीकरणका बाँकी काममा गृहकार्य गर्न गठन गरेको कार्यदलको पहिलो बैठक सोमबार बस्दैछ।
मंसिर २९ देखि जारी बैठकको अन्तिम दिन गत शुक्रबार ९ सदस्यीय कार्यदल गठन गरिएको थियो।आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छु, कार्यदल सदस्य वेदुराम भुसालले भने।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ।यद्यपि, आजको बैठक कार्यदलको छुट्टै भने बस्ने छैन। अध्यक्षद्वयले कार्यदलको काम कसरी अगाडि बढाउने, कस्ता कुरालाई प्राथमिकतामा राख्ने लगायतको निर्देशन दिने बताइएको छ।
नौ सदस्यीय कार्यदलमा विष्णु पौडेल, रामबहादुर थापा बादल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, सुरेन्द्र पाण्डे र वेदुराम भुसाल सदस्य रहेका छन्।
एमाले र माओवादीबीच एकता भएको सात महिना बितिसकेको छ। यसबीचमा प्रदेश कमिटी टुंगो लागे पनि त्यसभन्दा तलका कमिटीहरु टुंगो लागेका छैनन्। जनवर्गीय संगठनहरुको पनि एकता हुन सकेको छैन। पोलिटब्युरो पनि गठन भएको छैन। अन्य कतिपय केन्द्रीय निकायहरु पनि बनेका छैनन्। केन्द्रीय सदस्यहरुको कार्यविभाजन हुन सकेको छैन। विधानका बारेमा पनि प्रश्न उठेका छन्। कार्यादललाई आगामी एकीकरण प्रक्रियामा सहजीकरण गर्नका लागि प्रतिवेदन तयार गर्ने कार्यादेश छ।
कार्यदलले अहिलेसम्म भएका निर्णयहरुको पनि पुनरावलोकन गर्छ। प्रदेश कमिटीहरुमा जुन मनोनयन भएको छ र जहाँबाट असन्तुष्टिहरु आएका छन्, त्यसलाई पनि हेर्छु, कार्यदलका एक सदस्य योगेश भट्टराई भन्छन्, जिल्ला कमिटीदेखि जनवर्गीय संगठनको एकीकरणको लागि स्पष्ट मापदण्ड बनाएर पेश गर्छौं।
