भरतपुर कारागारमा दस वर्षमा ४१ को मृत्यु

भरतपुर कारागारमा दस वर्षमा ४१ को मृत्यु

भरतपुर,१८ पुस । भरतपुर कारागारमा रहेका कैदीबन्दीहरुको मृत्युको क्रम बढेको छ । अन्य कारणभन्दा क्यान्सर रोगका कारण मृृत्यु हुनेको संख्या बढी रहेको छ । कारागारमा क्यान्सर रोगसँग लडिरहेका बिरामीहरु ल्याइएकोले मृत्युदर बढेको कारागार प्रमुख कमल काफ्लेले बताए ।

जिल्ला कारागार प्रशासन भरतपुर चितवनका अनुसार दस वर्षको अवधिमा ४१ जना कैदीको मृत्यु भएको छ । क्यान्सरकै कारण २९ जनाले ज्यान गुमाएको दिपेन्द्र अधिकारीले चितवनपोष्टमा खबर लेख्नुभएको छ ।

उच्च रक्तचापका कारण मृत्यु हुनेको संख्या १० र २ जनाको अन्य कारणले मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । मृतकमध्ये ५ जना महिला रहेका छन्, जसमा दुई जना विदेशी रहेका छन् । एक भारतीय र एक पाकिस्तानी नागरिक रहेको प्रमुख काफ्लेले बताए । हाल ६ जना कैदीहरु क्यान्सर रोग लागेकाहरु रहेको प्रमुख काफ्लेले जानकारी दिए ।

‘भरतपुरमा सरकारी क्यान्सर अस्पताल भएकाले अन्य कारागारबाट यहाँ क्यान्सर भएका कैदीहरु पठाउँछन्’, प्रमुख काफ्लेले भने, ‘क्यान्सरको अन्तिम चरणमा पठाइने हुँदा धेरैजसोको मृत्यु उपचारका क्रममा हुने गरेको छ ।’

क्यान्सर भएका बिरामीलाई कारागारभित्र पनि भिन्न राखेर उपचार र हेरचाह गरिने गरेको उनले बताए । तर, बिरामीको आवश्यकताअनुसार खानपिनको सन्तुलन मिलाउन भने नसकिएको कारागारका सूचना अधिकारी नासु रामबाबु श्रेष्ठले बताए । ‘कैदीका लागि दैनिक आउने सिदाबाट नै बिरामीलाई पनि जसोतसो खानेकुरा दिने गरेका छौँ’, सूचना अधिकारी श्रेष्ठले भने, ‘तर, बिरामी कैदीका लागि भनेर भिन्दै बजेट र खान–बस्नका लागि व्यवस्था भने छैन ।’

कारागारमा रोगीहरु समेत अधिक रहेकाले दैनिक अस्पताल जानुपर्ने बाध्यता रहेको उनले बताए । ‘दिनमा एकपटक कोही न कोहीलाई जँचाउन लैजानुपर्छ, भएको एउटा गाडीले कैदीलाई अस्पताल लगेर जँचाउने प्रबन्ध भएपछि मात्र अदालत लैजाने गरेका छौँ’, उनले भने । अदालतसँग समन्वय गरेर काम हुने भएकाले समस्या नभएको उनको भनाइ छ ।

३० लाख ५६ हजार रुपैयाँ कैदीबन्दीको औषधि उपचारमा गत आर्थिक वर्षमा खर्च भएको कारागारका सूचना अधिकारी नासु श्रेष्ठले बताए । वार्षिकरुपमा कारागारको उपचार खर्च बढ्दो क्रममा रहेको उनले बताए ।

‘क्यान्सर लागेका एउटै बिरामीलाई केमो चढाउन प¥यो भने एकैपटक ५० हजारसम्म खर्च हुन्छ’, उनले भने, ‘उपचारमा लैजाने, बिरामी कुर्ने, हेरविचार गर्ने मान्छे नहुँदा समस्या भएको छ ।’ सुरक्षा संवेदनशीलताका हिसाबले कैदीलाई एकछिन पनि छाड्न नमिल्ने तर कारागारमा भने कम जनशक्ति हुने हुँदा समस्या भएको उनले बताए ।

कारागारबाट आएको बिरामी भन्नेबित्तिकै अस्पतालका डाक्टर र अन्य स्वास्थ्य प्राविधिकले पनि फरक हिसाबले व्यवहार गर्ने गरेकोप्रति सूचना अधिकारी श्रेष्ठले दुःखेसोे व्यक्त गरे ।