इच्छाकामना सुन्तलाको हब बन्दै , एउटै किसानले बेच्छन् २० लाख सम्मको सुन्तला

इच्छाकामना सुन्तलाको हब बन्दै , एउटै किसानले बेच्छन् २० लाख सम्मको सुन्तला

चितवन, १८ पुस । चितवनको एकमात्र गाँउपालिका इच्छाकामना सुन्तला खेतीका लागि निकै उर्वर मानिन्छ । हिमालको चिसो हावा सिधा वहने भएकोले पनि इच्छाकामनाको मुग्लिन र फिसलिङदेखि माथिल्लो भेग सुन्तलाको पकेट क्षेत्रको रुपमा स्थापित भएको छ ।

हिजोआज इच्छाकामना पुग्ने जो कोहीलाई बोटभरी लटरम्म फलिरहेका पहेलपुर सुन्तलाले मोहित पार्छ । इच्छाकामनाको उकालो लागेपछि प्रत्येक घरमा रहेका सुन्तला वगैचा सो क्षेत्रका जनताको जीवन धान्ने मुख्य आधार बनेको छ । इच्छाकामनामा सुन्तला खेती गर्ने किसानहरुले वर्षमा कम्तीमा पाँचलाख देखि २० लाख सम्मको सुन्तला वेच्ने गरेको तामिन कृषि सहरकारी संस्थाका अध्यक्ष हरि नेपालले बताउनुभयो । “यसबर्ष तामिनमा सुन्तालाको उत्पादन राम्रो छ, नेपालले भन्नुभयो’,सहकारीमा आबद्ध ८७ घरधुरीको मुख्य पेसा नै सुन्तला खेती हो ।” गाँउ गाँउमा सडकको संजाल पुगेपछि किसानको बोटबाटै सुन्तला बिक्ने गरेको उहाँले बताउनुभयो । “तामिनका अधिकांस सुन्तलाको बोट बुढो हुँदै गएका छन्,उहाँले भन्नुभयो’,अव नयाँ प्रबिधि प्रयोग गरेर नयाँ बिरुवा लगाउने तयारीमा छौं ।”

इच्छाकामनाका अधिकांस किसानले परम्परागत रुपमा सुन्तला खेती गर्दे आएका छन् । नयाँ प्रविधिमा जान राज्यले दिने भनिएको सहुलियत नपाएको कृषक चन्द्रा गुरुङले गुनासो गर्नुभयो । उहाँले कृषिको अन्य क्षेत्रमा जस्तै सुन्तलामा पनि सिचाई,मल,विरुवा,औषधी आदिमा दिने अनुदान पर्याप्त नभएको र बजार पनि आफ्नो नियन्त्रणमा नभएको बताउनुभयो । “उहाँले भन्नुभयो,बजारमा अझै पनि केही ब्याक्तिको एकाधिकार चल्छ,किसानमुखी बजारिकणका लागि राज्यले पहल गरिदिनुपर्छ ।” पछिल्लो पटक स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधीहरु आएपश्चात भने स्थानीय सरकारहरु सिधै जनतासंग जोडिने भएकोले केही आशा पलाएको गुरुङको भनाई छ ।

इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गिता गुरुङले यसवर्ष मात्रै सुन्तला किसानका लागि गाँउपालिकाको परिषदवाटै अनुदानका लागि रकम बिनियोजन गरेको बताउनुभयो । उहाँले इच्छाकामनामा सुन्तलाको मात्रै चारवटा पकेटक्षेत्र घोषणा गरिसकेको र किसानलाई आबश्यक सहयोग गरिरहेको बताउनुभयो । सुन्तलाको बेर्ना,औषधी र औषधी छर्ने पम्प लगाएतका सामाग्री सहयोग गर्नुका साथै किसानलाई तालिम दिइएको गुरुङले जानकारी दिनुभयो । यसबर्ष मात्रै इच्छाकामनामा करिब पाँच करोड बराबरको सुन्तलाको कारोवार भएको उहाँको भनाई छ ।

चितवनमा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान कृषि ज्ञान केन्द्र चितवनको छ । “इच्छाकामनामा अझै सुन्तला टिप्न बाँकी छ, कृषि ज्ञान केन्द्र चितवनका बागवानी विकास अधिकृत धन बहादुर थापाले भन्नुभयो’,यस वर्ष हावाहुरी, असिना पानी लगाएतले असर नपारेका कारण सुन्तला उत्पादन वढेको छ ।” चितवनमा यस वर्ष २ सय ५४ हेक्टर क्षेत्रफलमा सुन्तला लगाइएको उहाँले बताउनुभयो । गत वर्ष २ सय ४४ हेक्टरमा लगाइएको सुन्तला खेतीबाट २ हजार २ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । चितवनमा व्यवसायीक रुपमा सुन्तला खेती गर्ने ३ सय किसान रहेका छन् । चितवनमा उत्पादन भएका सुन्तला मुग्लिन, नारायणगढ, काठमाण्डौं, पोखरा, लगायत देशका विभिन्न शहरमा विक्री हुदै आएको छ । नारायणी अनलाइनबाट