प्रदेश ३ मा सरकारी लगानीमा सामुहिक खेती प्रणाली सूरु

प्रदेश ३ मा सरकारी लगानीमा सामुहिक खेती प्रणाली सूरु

सिन्धुली, २२ पुस । प्रदेश नं ३ अन्तर्गत पर्ने सिन्धुली जिल्लाबाट प्रदेश सरकारले चक्लाबन्दी सामुहिक खेती प्रणाली सूरु गरेको छ । प्रदेश नम्बर ३ सरकारको भूमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले चक्लाबन्दी सामुहिक खेती प्रणालिको सुरु गरेको हो । सहकारीमा आधारित सामुहिक चक्लाबन्दी खेती पहिलो चरणमा एक सय विगाहा क्षेत्रफलमा सुरु गरिएको हो । जसमा नगरपालिका भित्रका करिब डेढसय किसान सहभागी हुनेछन् । सामुहिक खेतीबाट उत्पादन भएको धान,मकै,गहुँ,तोरी लगाएतका खाद्यान्नको बजारिकरणको ब्यवस्था प्रदेश सरकारले गर्ने छ । कृषियोग्य भूमिको खण्डिकरण रोक्न र कृषि उत्पादनको बृद्धि गर्न किसानलाई प्रोत्साहन गर्न प्रदेश सरकारले यो खेतिप्रणाली सुरु गरेको हो । सिन्धुलीको दुधौली नगरपालिका,२ भलुवाहीमा एक कार्यक्रमका वीच प्रदेश नम्बर ३ का भूमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले डोजर चलाएर सामुहिक खेती प्रणालिको उद्घाटन गरे ।
पछिल्लो समय किसानहरु एकीकृत खेतीतर्फ आकर्षित भएका छन । परिवारमा खेती गर्नेको संख्या घट्दै गएपछि किसान एकीकृत खेतीतर्फ लागेको कृषि मन्त्रालयले जनाएको छ । सरकारको नीति तथा कार्यक्रममा पनि ५ बर्षभित्र कृषिमा नेपालको ठूलो हिस्सा परिचालन गर्ने र कृषिलाई आधुनिकिकरण र वैज्ञानिकीकरण गर्दै सामुहिक खेती प्रणालीको विकास गर्ने विषय समेटिएको छ ।