चितवनका किसानले बिक्रीका लागि राखिएको भारतीय गोलभेडा गरे नष्ट

चितवनका  किसानले   बिक्रीका लागि राखिएको भारतीय गोलभेडा  गरे नष्ट

चितवन, २४ पुष । चितवनको भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको भारतीय टमाटर किसानले नष्ट गरिदिएका छन् ।
चितवनकै ठूलो र व्यवस्थित तरकारी बजारको रुपमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा १०/१२ जनाको समूहमा आएका किसानको समूहले आज बिहान टमाटर नष्ट गरिदिएका हुन् । तीन वटा पसलमा बिक्रीका लागि राखिएका टमाटर किसानहरुले नष्ट गरिदिदा करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको व्यवसायीहरुले जनाएका छन् । किसानहरु आएर अबदेखि भारतीय टमाटर बिक्री नगर भन्दै व्यवसायीले राखेका टमाटर फाल्न थालेका पीडित व्यवसायी महादेव साहले बताए ।
किसानहरुको समूहले व्यवसायीले बिक्रीका लागि राखेको टमाटर नष्ट गरिदिएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नेपाली टमाटरको मात्रै भर पर्दा बजारको माग धान्न नसकेर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्था आउने भएकाले केही मात्रामा भारतीय टमाटर मगाएर बिक्री गरिएको महानगर फलफूल तथा तरकारी बजारका अध्यक्ष थीरप्रसाद धितालले बताए ।