चितवन महोत्सवको दोश्रो दिन दश हजारले गरे अवलोकन

चितवन महोत्सवको दोश्रो दिन दश हजारले गरे अवलोकन

चितवन, २६ पुष । १२ औं चितवन महोत्सवको दोस्रो दिन करिव १० हजारले अवलोकन गरेका छन् । दोस्रो दिन बिहिबारबाट नै सांस्कृतिक कार्यक्रम सुरु भएपछि अवलोकनकर्ताको चाप बढेको हो ।
दोस्रो दिन चर्चित हाँस्य कलाकार जीतु नेपालको हाँस्य प्रहशन रहेकाले पनि अवलोकनकर्ताको चाप बढेको सांस्कृतिक कार्यक्रम संयोजक रोहित कुमार श्रेष्ठको भनाई छ । कार्यक्रममा मुन्द्रेले देशको परिवेशबारे पेचिला शब्दहरु मार्फत घोचपेच गर्दा दर्शकको ताली पाए । यस्तै जादुगर बलराम सरकारको प्रस्तुतीले अवलोकनकर्तालाई अचम्मित बनाएको थियो ।
महोत्सव अन्र्तगत बिहिबारदेखि लोक गीत प्रतियोगिता समेत सुरु भएको छ । ११ जना प्रतियोगि कलाकारहरुले आआफ्नो प्रस्तुती दिएका छन् । नारायणगढको नारायणी नदी किनारमा भएको महोत्सवको उद्योग वाणिज्य संघ–चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनमा गरेका हुन् । महोत्सवमा पांच सय ७० वटा स्टल रहेको छन् । जसमा मेड इन नेपाल परिसर, अटो परिसर, सुचना तथा प्रविधि परिसर समेत रहेका छन् ।
यस पटकको महोत्सवमा चेपाङ, कुमाल, बोटे र दराई जातीको पहिचान झल्कने सांस्कृतिक घर निर्माण गरिएका छन् । करिब पाँच लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सवमा करिब २५ करोड रुपैयाँ कारोबार हुने अनुमान गरिएको छ । महोत्सवको तेस्रो दिन शुक्रबार भने आधुनिक गीत प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगितामा १० जनाले आफ्नो प्रस्तुती दिनेछन् ।