रत्ननगरको नगर सभाद्वारा दुई आचारसंहिता र योजना संसोधन प्रस्ताव पारित

रत्ननगरको नगर सभाद्वारा दुई आचारसंहिता र योजना संसोधन प्रस्ताव पारित

धुर्वराज खनाल

चितचवन, २९ पुष । रत्ननगर नगरपालिकाले जनप्रतिनिधीहरुका लागि आचार सहिंता बनाएको छ । सो आचारसंहिता आईतबार सम्पन्न चौथो नगर सभाले पारित समेत गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुलाल रेग्मीका अनुसार नगर सभाले जनप्रतिनिधीहरुको आचार संहितासहित वालमैत्री नगर सम्वन्धी आचार संहिता र विभिन्न योजना संसोधन प्रस्ताव पारित गरेको छ । नगरवासीसंग प्रत्यक्ष सरोकार राख्ने भएकाले जनप्रतिनिधीहरुलाई जिम्मेवार र पारदर्शी वनाउन आचारसंहिता वनाईएको प्रमुख प्रशासकीय अधिकृत रेग्मीले वताए । आचारसंहिता अनुसार अव जनप्रतिनिधीहरुले नगरपालिका भित्र पान गुड्खा खानदेखी कुनै पनि ठेक्का पट्टाको काम गर्न गराउन पाउने छैनन् । सन् २०१९ भित्र नगरपालिकालाई वालमैत्री नगर वनाउने लक्ष्य लिईएकाले वालमैत्री सम्वन्धी आचारसंहिता समेत नगर सभाले पारित गरेको हो । आचार संहिता पालना भए नभएको बारे अनुगमन गर्न नगर प्रमुखको अध्यक्षतामा उपप्रमुख सदस्य र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने समिति वनाएको छ । नगर सभामा विधान मस्यौदा समितिका संयोजक तीलक राज शर्माले वालमैत्री आचारसंहिता प्रस्ताव,मस्यौदा समिति सदस्य अपिल अधिकारीले जनप्रतिनिधीको आचार संहिता र नगर प्रवक्ता राजेन्द्र हमालले योजना संसोधन प्रस्ताव पेश गरेका थिए । ति प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको नगर प्रमुख नारायण वनले वताए । नगर सभाले वडागत र नगरस्तरीय विभिन्न ३२ वटा योजनाहरु संसोधन गरि २९ वटामा झारिएको नगर प्रमुख वनले जानकारी दिए । नगर सभासदहरुले राखेका विभिन्न जिज्ञासाबारे नगर प्रमुख नारायण वन र उपप्रमुख विमला दुवाडीले सम्वोधन गरेका थिए ।