रत्ननगरका कर्मचारीलाई कडाई,कामप्रति उत्तरदायी हुन निर्देशन
चितवन, १ माघ । चितवनको रत्ननगर नगरपालिकाले कर्मचारीलाई जनताको कामप्रति उत्तरदायी हुन निर्देशन दिएको छ ।जनप्रतिनिधिको लागि आचासंहिता लागु गरे लगतै कर्मचारीलाई पनि कडाई गरिएको हो । नगरपालिकाले विहन ठिक १० बजे कार्यालयमा हाजिर हुन, कार्यालय अबधि भर बस्न,नेपाल सरकारले तोकेको पोसाक अनिवार्य लगाउन निर्देशन दिएको हो ।
नगरािलिकाले कार्यालय समयमा बाहिर जानु परेमा अनिवार्य रुपमा कार्यालय प्रमुखसंग अनुमति लिनुपर्ने र कार्यालय प्रमुख नभए शाखा प्रमुखलाई जानकारी गराई लगबुक भरेर मात्र बाहिर जान निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत बाबुलाल रेग्मीले बताए ।
दश बजेपछि कार्यालय आउने कर्मचारीको हाजिर गयल गरिने र उनीहरुको पारिश्रमिक कट्टा गरिने उनले बताए ।
कर्मचारीलाई जवाफदेही,जिम्मेवार र जनताको कामप्रति उत्तरदायी बनाउन कडाईका साथ निर्देशन दिएको बताए । निर्देशन पालना नगर्ने कर्मचारीको हाजिरी गयल मात्र नभई जागिर जाने सम्भावना रहने उनले बताए ।
मेयर नारायण वनले नगरपालिकाको कार्यसम्पादनलाई प्रभावकारी बनाउन कर्मचारीहरुलाई उल्लेखित नियम इमान्दारितापूर्वक पालना गर्न निर्देशन गरिएको बताए । उनले निर्देशन अटेर गर्ने कर्मचारीलाई कारवाही गरिने बताए ।
