इच्छाकामना गाउँपालिकाद्वारा निजी स्रोतका शिक्षक व्यावस्थापन गर्दै

इच्छाकामना गाउँपालिकाद्वारा  निजी स्रोतका शिक्षक व्यावस्थापन गर्दै

हीरालाल गुरुङ

कुरिनटार ,१३ माघ । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले निजी स्रोतका शिक्षकको व्यावस्थापन सुरु गरेका छन् ।गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा देखिएका समस्या समाधान गर्न गाउँपालिकाले निजी स्रोतका शिक्षकहरुको व्यवस्थापन सुरु गरेका हुन् ।

“शिक्षामा सबैको पहुँच पु‍¥याई “गुणस्तरीय शिक्षा प्रदान गर्न यो अवधारणा ल्याएका हौँ, शिक्षा ऐन र कार्यविधि पारित गरेर सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकको व्यवस्थापन गरेका हौँ ।” गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले भन्नुभयो । यस आर्थिक बर्ष २०७५ बाट गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा कार्यरत निजी स्रोतका शिक्षकहरुलाई मासिक १८ हजारले तलब गाउँपालिकाले उपलब्ध गराएको उहाँले बताउनुभयो । साथै बालविकास शिक्षकका लागि केन्द्र सरकारले उपलब्ध गराएको रु ६ हजारमा रु ४ हजार थप गरेर रु १० हजार मासिक तलब उपलब्ध गराइएको अध्यक्ष गुरुङले बताउनुभयो ।

गुणस्तरीय शिक्षाका लागि निजि स्रोतका शिक्षकहरुलाई गाउँपालिकाले तालिमको समेत व्यवस्था गर्ने अध्यक्ष गुरुङले बताउनुभयो ।गाउँपालिकाका शिक्षा प्रमुख दीपक सिग्देलले इच्छाकामना गाउँपालिकामा हाल ४१ जना निजि स्रोतका शिक्षक र ६८ जना बालविकासका शिक्षक रहेको जानकारी दिनुभयो ।हाल सम्म इच्छाकामना गाउँपालिकामा ५८ सामुदायिक र ५ निजी गरी ६३ वटा विद्यालय रहेका छन् ।

यसैबीच गाउँपालिकाले विद्यालय समायोजन र शिक्षक दरबन्दी समेत मिलान गर्ने जनाएको छ । “विद्यालय समायोजन र शिक्षक व्यवस्थापनका लागि गाउँपालिकाद्वारा गठित शिक्षा समितिले स्थलगत अनुगमन गरी प्रतिवेदन तयार पारी गाउँपालिकामा पेश गरिसकेको छ, अव छिट्टै विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलानको प्रकृया सुरु हुन्छ ।” प्रमुख सिग्देलले भन्नुभयो । मापदण्ड अनुसार विद्याथीको संख्या नभएका विद्यालयहरुबिच समायोजन र विद्यालयको आवस्यकता अनुसार शिक्षक दरबन्दी मिलान गर्ने उहाँको भनाई छ ।

निजि श्रोतका शिक्षकहरुलाई अभिभावकहरुले चन्दा उठाएर तलब उपलब्ध गराउनु पर्ने बाध्यता समेत रहदैँ आएको थियो ।