आईतबारदेखि मौसममा सुधार आउने

आईतबारदेखि मौसममा सुधार आउने

काठमाण्डौ, २६ माघ । पश्चिमी वायुको प्रभाव क्रमशः कमजोर बन्दै गएपछि भोलि (आइतबार)देखि मौसममा सुधार हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले मध्य तराईका भेगमा मौसममा सुधार आईसकेकोले आईतबारदेखि सबै क्षेत्रमा मौसम सुधार हुने महाशाखाका मौसमविद शान्ति कँडेलले बताइन् । “अहिले पश्चिमका केही क्षेत्र र मध्यका तराई भेगमा मौसममा सुधार हुँदै आएको छ । पूर्वी क्षेत्रमा साँझतिर हल्का वर्षा हुने देखिन्छ, बाँकी भेगमा छिटफुट वर्षा भए पनि आइतबारदेखि मौसममा सुधार आउछ,”–उनले भनिन् ।

यसैबीच महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान सम्बन्धी बुलेटिन निकालेर बदली र वर्षाका साथै हिमपातको सम्भावना औंल्याएको छ । आज देशको पूर्वी र मध्य भेगमा सामान्य बदली रही पश्चिमी भेगमा आंशिक बदली रहने छ भने मध्य र पूर्वी भेगका केही तथा पश्चिमी भेगका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ । साथै हिमाली क्षेत्रमा मध्यम हिमपात हुनेछ ।

रातको समयमा पनि पूर्वी भेगमा सामान्य बदली र थोरै स्थान तथा मध्य र पश्चिमका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । भोलि आइतबार देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने तथा पहाडी भेगका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २८ गते सोमबारदेखि मौसममा क्रमिक सुधार आउनेछ । पहाडी भेगमा सामान्य बदली रहेपनि बाँकी भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।