चितवनको इच्छाकामनामा नसर्ने रोगबारे अभिमुखीकरण

चितवनको इच्छाकामनामा नसर्ने रोगबारे अभिमुखीकरण

कुरिनटार, १९ चैत । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा नसर्ने रोगको रोकथाम तथा व्यवस्थापन सम्बन्धी स्वास्थ्यकर्मी र सरोकारवालाहरुका लागी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । इच्छाकामना गाउँपालिकाको आयोजनामा विशेष गरि नसर्ने प्रमुख चार रोगहरु मुटु तथा रक्तनलीका रोग (कोरोनरी रक्तनलीको रोग हृदयघात मस्तिष्कघात, मधुमेह,दिर्घ श्वासप्रश्वास सम्बन्धी रोग र दम र क्यान्सर(स्तन र पाठेघर मुखको ) रोगबारे अभिमुखीकरण सम्पन्न भएको हो ।

दारेचोक स्वास्थ्यचौकी इच्छाकामना ४ कुरिनटारमा सम्पन्न कार्यक्रममा ड. सरदा पोखरेलले नसर्ने रोगका किसिम यसबाट बच्ने उपाँय र उपचारको विधिका बारे सहभागीहरुलाई जानकारी दिनुभएको थियो । खानपानमा लापरवाही,आवस्यकता अनुसार शारिरिक व्ययाम नगर्दा नसर्ने रोगहरु लाग्ने डा . पोखरेलले बताउनुभयो । साथै उहाँले खाद्यवालीहरुमा विषादी प्रगोगले गर्दा पनि क्यान्सर जस्ता खतनराक रोग लाग्ने बताउनुभयो ।
नसर्ने रोग लागेको थाहा नहुने भएकाले नियमित स्वास्थ्य परिक्षण गरिरहनु पर्ने बताउनुभयो । नियमित स्वास्थ्य जाँच गर्दा रोग लागेको समयमै पत्ता लाग्ने र समयमै उपचार गरे ठूला समस्याबाट बच्न सक्ने बताउनुभयो ।रोग लागीसकेपछि उपचार गर्नमा ढिलाई गर्ननहुने डा पोखरेलको सुझाव छ ।

कार्यक्रममा इच्छाकमनामा रहेका स्वास्थ्य संस्थाका प्रतिनिधिहरुले स्वास्थ्य संस्थामा आउने विरामीहरुको किसिम बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै गाउँपालीकाका प्रमुख गीता कुमारी गुरुङले नसर्ने रोग विकराल बन्दै गएकोले यस्ता कार्यक्रमहरुलाई प्रत्येक वडामा लैजाने बताउनुभयो । सहभागी स्वास्थयकर्मी तथा सरोकारवालाहरुलाई यस कार्यक्रमबाट आफुले जानेका बारेमा टोलटोलमा गएर जनचेतनामुलकका लागि अन्य नागरिकहरुलाई जानकारी दिन आग्रह गर्नुभयो ।


वडा नं ६ का वडाध्यक्ष भूपेन्द्र चेपाङले नसर्ने रोगबारे गाउँका बासिन्दाहरु अनविज्ञ भएकाले प्रत्येक वडा टोलटोलमा यस्ता कार्यक्रम आवस्यक रहेको बताउनुभयो ।
कार्यक्रममा डा सरदा पोखरेल सहित इच्छाकामना गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख धनकुमार खड्का र दारेचोक स्वास्थ्य चौकीका इन्चार्ज हरि देवकोटाले पनि नसर्ने रोगबारे अभिमुखीकरण कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा नसर्ने रोग लागीसेकाहरुसंग पनि परामर्श गरेका थिए ।
कार्यक्रममा सात ओटै वडाका स्वास्थ्यकर्मी र सरोकारवालाहरु गरी ६० जना भन्दा बढीको सहभागीता रहेका थिए ।