मस्र्याङ्गदी करिडोर अन्तर्गतको स्थानीय तहहरुको समन्वयात्मक बैठक आँबुखैरेनीमा

मस्र्याङ्गदी करिडोर अन्तर्गतको स्थानीय तहहरुको समन्वयात्मक बैठक आँबुखैरेनीमा

 

आँबुखैरेनी, २१ चैत , मस्र्याङ्गदी करिडोर अन्तर्गत रहेका स्थानीय तहहरुको समन्वयात्मक बैठक आँबुखैरेनीमा सम्पन्न भएको छ । आँबुखैरेनी गाउँपालिकाको आयोजनामा आँबुखैरेनीमा आज बिहिबार मर्स्याङ्दी करिडोर अन्तर्गत स्थानीय तहहरुको साझा सवाल एवं एकिकृत विकासको समन्वयात्मक बैठक सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष गिर बहादुर थापाको अध्यक्षतामा सम्पन्न बैठकमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री माननिय श्री हरि बहादुर चुमान, बन्दिपुर गाउँपालिका, भानु नगरपालिका, वेसिशहर नगरपालिका, सुन्दरबजार नगरपालिका, पालुङटार नगरपालिका र राइनस नगरपालिकाका प्रमुख र अध्यक्ष, उप–प्रमुख र उपाध्यक्ष साथै प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थिती रहेको थियो ।

बैठकले मस्र्याङ्गदी करिडोर क्षेत्रका स्थानीय तहहरुको आफ्नो क्षेत्र भित्र एकिकृत रुपमा निर्माण, संचालन र व्यवस्थापन गर्न सकिने अस्पताल, क्षेत्रीय रंगशाला, कोल्ड स्टोर, सरसफाई क्षेत्र, आवशिय विद्यालय, प्रारङ्गिक कृषि उत्पादन तथा विक्री केन्द्र स्थापना जलाधार विकाश क्षेत्र, एकिकृत रुपमा बस्ती निर्माण लगायतका योजनाहरु संघ र प्रदेशमा सिफारिस गर्न उक्त योजना र सञ्चालन गर्न स्थान पहिचान गर्ने निर्णय भएको आँबुखैरेनी गाउँपालिकाका सूचना अधिकृत शेखरनाथ डोटेलले जनाकारी दिए ।

यस्तै स्थानीय तहले उठाउने विभिन्न करको दरहरुको बारेमा प्रमुख प्रशासकिय अधिकृतहरुको संलग्नतामा बैठक बस्ने र आगामी बैठक बन्दिपुर गाउँपालिकाले आयोजना गर्ने निर्णय भएको पनि उनले जानकारी दिए ।