चितवनमा नागरिकता ऐन संशोधन विधेयक बिरुद्ध हस्ताक्षर

चितवनमा नागरिकता ऐन संशोधन विधेयक बिरुद्ध हस्ताक्षर

चितवन,१३ बैशाख । नागरिकता ऐन संशोधन विधेयक बिरुद्धमा चितवनमा नागरिक हस्ताक्षर अभियान शुरु गरिएको छ । नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको बिधेयकमा भएका कतिपय बुँदाहरुमा बिदेशीले पनि नागरिकता प्राप्त गर्न सक्ने देखिएकाले ति बुँदाहरुलाई संसोधन गर्न दवाब दिनका लागि नागरिक हस्ताक्षर अभियान शुरु गरिएको हो ।

नेकपा मसाल, नेकपा माले,राष्ट्रिय जनमोर्चा, नेकपा समाजबादी र पुष्पलाल अध्ययन प्रतिष्ठानले विधेयकको विरोधमा हस्ताक्षर संकलन गरेका हुन । आज शुक्रबार कालिका नगरपालिकामा भएको हस्ताक्षर अभियानमा गर्दै राष्ट्रिय जनमोर्चा चितवनका अध्यक्ष डम्बर पुरीले यो वा त्यो ढंगले बिदेशीलाई नागरिकता दिदाँ नेपालको राष्ट्रियतामाथि खतरा उत्पन्न हुने देखिएकाले त्यसका बिरुद्ध नागरिक हस्ताक्षर अभियान शुरु गरिएको बताए ।

उनले राष्ट्रको हितका लागि चितवनमा संयुक्त संघर्ष समिति गठन गरेर नागरिकता बिधेयक बिरुद्धमा अभियान शुरुवात भएकाले सवैलाई अभियानमा सहभागी हुन आग्रह गरे । नेकपा माले चितवनका जिल्ला सचिब पर्शुराम लामिछानेले राष्ट्रको हित बिपरित हुने कार्यको सदैव खवरदारी गर्न आवश्यक रहेको बताउँदै नागरिकता बिधेयक संशोधन गरेर राष्ट्र र राष्ट्रियतालाई बचाउने कार्यमा दवाब दिनका लागि सवैले पहल गर्न आवश्यक रहेकोमा जोड दिए ।

जनमोर्चा कालिका नगरपालिकाका पुर्ब अध्यक्ष एवम जिल्ला सदस्य नारायण चालिसेले संघीय संसदको प्रतिनिधि सभामा पेश गरिएको नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको बिधेयकमा कतिपय संविधानमा उल्लेख गरिएका शब्द तथा बाक्याँशलाई जस्ताको जस्तै कानुनमा आओस भनि उल्लेख गरिएका कतिपय बुँदाहरु उचित र सान्र्द्भिक भएपनि धेरै कुराहरु संशोधन गर्नुपर्ने भएकाले त्यसमा ध्यान दिन आवश्यक रहेको बताए । हस्ताक्षर संकलन अभियानमा मालेका नगर सचिव रामहरि लम्साल,राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य मेघराज ढकाल लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ ।