छयासी बर्षको उमेरमा नागरिकता पाएपछि थामिएनन् धन बहादुरका हर्षको आँसु

छयासी बर्षको उमेरमा नागरिकता पाएपछि थामिएनन्  धन बहादुरका  हर्षको आँसु

चितवन, १५ बैशाख । जीवनको उत्तरार्द्धमा घर छेउमा नै नागरिकताको प्रमाणपत्र पाउँदा उनी दंग छन । ८६ वर्षको उमेरमा उनले गाउँमै गएको नागरिकता टोलीको शिविरबाट नागरिकता लिएका हुन ।

‘अबदेखि मैले पनि सरकारले दिने बृद्धा भत्ता पाउने भएँ’ गहभरी आँसु पार्दै ८६ वर्षीया धन बहादुर प्रजाले भन्नुभयो । राप्ती नगरपालिका वडा नं। १२ का धन बहादुरले गाउँमै आएको एकीकृत घुम्ती शिविरबाट नागरिकता पाएपछि उहाँले हर्षको आँसु थाम्न सक्नुभएन ।

‘नागरिकता नभएकै कारण सरकारले दिने भत्ता पाउन २६ वर्ष पर्खनु पर्यो’ वृद्ध धनबहादुरले बताए । सरकारले ६० वर्ष पुगेपछि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएपनि नागरिकताको प्रमाणपत्र नभएको कारण उहाँले भत्ता पाउन सक्नुभएको थिएन ।

नागरिकताको आवश्यकताबारे जानकारी पाएपनि जिल्लासम्म जान नसक्दा नागरिकता पाउन नसकेको धनबहादुरले आफ्नो बाध्यता बताए । उनलाई नागरिकता प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र राप्ती नगर प्रमुख प्रभा बरालले संयुक्त रूपमा प्रदान गरे । हातमा नागरिकताका प्रमाणपत्र पाउनेबितिक्कै उनले नगर प्रमुख बराललार्ई ‘मेयर साव मैले पनि वृद्धभत्ता पाउँछु, होइन’ भनी सोधेका थिए । ‘अब पाइन्छ,’ बरालले आश्वस्त बनाएकी थिइन् ।

सरकारी सेवाबाट बञ्चित रहेका नागरिकलाई गाउँगाउँमै पुगेर सेवा प्रवाह गर्ने उद्देश्यले राप्ती नगरपालिका र जिल्ला प्रशासन कार्यालय चितवन एकीकृत घुम्ती शिविर सञ्चालन गरेका हुन् । प्रशासनले नागरिकता प्रमाणपत्र राप्ती १०, ११, १२ र १३ मा वितरण गरेका थिए ।

शिविरमा सबैभन्दा धेरै नागरिकता बनाउनेको संख्या रहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामचन्द्र ढकालले जानकारी दिए । नगरपालिकाको सहयोगमा जिल्ला प्रशासन कार्यालयल ठकुरीभञ्याङमा आयोजित नागरिकताको शिविरबाट ३ सय ४२ जनाले नागरिकता लिएका छन भने ३ सय ६७ जनाले मतदाता परिचय पत्र प्राप्त गरेका छन । नागरिकता लिनेहरू चेपाङ समुदाय छन ।