अण्डा उत्पादक संघमा किसानहरुले लगाएको ताला खुल्यो

अण्डा उत्पादक संघमा किसानहरुले लगाएको ताला खुल्यो

चितवन, १७ बैशाख । अण्डा उत्पादक किसानहरुले बैशाख १२ गते नेपाल अण्डा उत्पादक संघको केन्द्रीय कार्यालयमा लगाएको ताला खोलेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनमा नेपाल अण्डा उत्पादक संघ, लेयर्स कुखुरा पालक संघ, अण्डा उत्पादक किसान र प्रमुख जिल्ला अधिकारीबीच दीर्घकालीन रुपमा किसानको समस्या समाधान खोज्ने गरी सात सदस्य समिति गठन भएपछि किसानहरुले ताला खोलेका हुन् ।
अण्डा उत्पादक संघले अण्डाको मूल्यमा अस्वभाविक गिरावट आएकोे भन्दै पछिल्लो चरणको आन्दोलन स्वरुप उनीहरुले तालाबन्दीमा उत्रिएका थिए । एउटा अण्डाको उत्पादन लागत १० रूपैयाँ पर्दा सप्लायर्सहरुले ६ रूपैयाँमा मात्रै अण्डा खरिद गरेका किसान गोविन्द शर्माले बताए । अण्डा उत्पादक किसानहरुले कृषक भेला, अण्डाको मूल्य वृद्धि र अध्यक्ष त्रिलोचन कँडेलको राजीनामा माग गर्दै तालाबन्दी गरेका थिए ।
छलफलका क्रममा पोल्ट्री व्यवसायी मञ्चका पूर्व अध्यक्ष डाक्टर त्रिलोचन भट्टराईले राज्यको खराब नीतिका कारण अहिलेको अवस्था सिर्जना भएको बताए । जसले जहाँ जे व्यवसाय गर्ने प्रचलन छ त्यो बन्द नभएसम्म किसानको समस्या समाधान नहुने डाक्टर भट्टराईले बताए । बर्ड फ्लू समयमा नै नियन्त्रण गर्न नसक्दा किसानहरुले अण्डा सस्तोमा बिक्री गर्नुपर्ने अवस्था सिर्जना भएको भट्टराईले बताए ।
नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले किसानहरुको माग जायज भए पनि अण्डाको मूल्य वृद्धि गर्न सक्ने अवस्था नरहेको बताए । काठमाडौँमा बर्डफ्लु लागेर काग मरेको भन्ने समाचार आएपछि चितवनको अण्डा बाहिरी जिल्लामा जान कम भएको कँडेलले बताए । चितवनबाट दैनिक १३ लाख गोटा अन्डा बाहिरी जिल्लामा पठाइने गरेको कँडेलले बताए ।
छलफलका क्रममा चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले वार्ता संवादबाट अगाडि बढ्नुपर्ने भन्दै कानुन हातमा लिने काम कसैले पनि गर्न नहुने बताएका थिए । प्रजिअ बस्नेतले तालाबन्दी समस्याको समाधान नभएकाले वार्ता टोली बनाएर अगाडि बढ्न सुझाव दिएपछि किसानहरुले अण्ड उत्पादक संघमा लगाएको ताला खोलेका हुन् । किसानलाई क्षति हुने गरी कसैले पनि काम गर्न नहुने बस्नेतको भनाइ थियो ।