नेपाली साम्बा चम्के पछि इन्डियन वुमन्स लिगको उपाधि सेथु फुटबल क्लबलाइ

नेपाली साम्बा चम्के पछि इन्डियन वुमन्स लिगको उपाधि सेथु फुटबल क्लबलाइ

काठमाडौं,नेपाली फरवार्ड सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनमा सेथु फुटबल क्लबले इन्डियन वुमन्स लिगको उपाधि जितेको छ । बुधबार लुधियानामा भएको फाइनल खेलमा सेथुले मणिपुर पुलिस स्पोर्ट्स क्लबलाई ३-१ ले पराजित गर्दा सावित्राले २ गोल गरिन् ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा सेथु १-० ले पछाडी रहेको थियो । खेलको ४३ औं मिनेटमा मणिपुरकी राधारानी देवीले गोल गर्दै अग्रता दिलाएकि थिइन । उनले हेडरमार्फत गोल गरेकी थिइन् । सेथुले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्ने सुवर्ण अवसर प्राप्त गरेपनि आशालता देवीको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो  ।

दोस्रो हाफको ५६ औं मिनेटमा सेथुले खेल बराबरीमा ल्यायो । सावित्राले मिडफिल्डबाट उपलब्ध गराएको लामो पासमा ग्रेसले दिएको क्रसमा इन्दुमथीको प्रहार मणिपुरकी उपमति देवीलाई लाग्दै आफ्नै पोस्टमा छिरेको थियो । अग्रता लिएपछि लगातार आक्रमणमा उत्रिएको सेथुले अग्रता लिन धेरै समय कुर्नु परेन ।

बराबरी गोल फर्काएको ४ मिनेटपछि नै सावित्राले सेथुलाई अग्रता दिलाइन् । उनले दाङमेई ग्रेसको पासलाई पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको ७० औं मिनेटमा सावित्राले सेथुको अग्रता दोब्बर पारिन् । उनले इन्दुमथी कासिरेथानको पासलाई सदुपयोग गर्दै गोलरक्षकलाई कुनै मौका दिईनन् । थप समयमा गोल नहुँदा सेथुले पहिलो पटक प्रतियोगिताको उपाधि जित्न सफल रहयो ।

सावित्राले प्रतियोगिताका ७ मध्य ६ खेलमा गोल गर्न सफल रहिन् । उनले प्रतियोगितामा ३ ह्याट्रिकसहित कुल १५ गोल गरिन् । सावित्रासँगै मिडफिल्डर अनिता बस्नेत पनि सेथुमा नै आबद्ध छिन् । प्रतियोगिताको नियम अनुसार एक पटकमा एक विदेशी मात्र खेलाउन पाइने नियमका कारण अनिताले धेरै मौका पाइनन् ।