घटनामा संलग्न भएको आशंकामा १६ जना पक्राउ परेका छन् । घटनामा संलग्न मुख्य व्यक्ति भनिएका प्रकाश कँडेलको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दुर्गा रेग्मीले जानकारी दिए । बार भत्काउन प्रयोग गरिएको डोजर प्रहरीले नियन्त्रणमा लिएको छ ।
रंगशाला निर्माणको पश्चिमतर्फ सडक निर्माणका लागि फाउण्डेसनले जग्गा छाड्नुपर्ने माग स्थानीयको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले भोगचलन गर्दै आएको जग्गाबाट सडक बनाउनुपर्ने माग उनीहरुको छ । चार दिनअघि यस विषयमा स्थानीयसँग फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले छलफल गरेका थिए ।
सो छलफलमा रंगशालाको पूरा डीपीआर आएपछि कति सडक छाड्ने भन्ने बारेमा निर्यौक्ल हुने भएकोले तत्काल काम गर्न दिन अनुरोध गरेका थिए । स्थानीयका लागि मात्रै होइन रंगशालाका लागि समेत सडक चाहिने भएकोले करीव १० मिटर जग्गा सडकका लागि छाड्ने विश्वास धुर्मसले दिलाएका थिए ।
अहिले सो क्षेत्रमा ७ मिटर फराकिलो सडक छ । स्थानीयले समेत केही मिटर छाडेर बाटो खोल्ने सहमति भएको ४ दिनपछि नै केही व्यक्तिहरुको उक्साहटमा जस्ताको बार भत्काइएको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए । ‘उहाँहरुले अहिले सामान सुरक्षाका लागि बार लगाउनुस् भन्नुभयो र लगाएँ तर एकाएक आएर डोजर लगाउनुभयो’ धुर्मसले भने ।
‘जहाँका जनताले सबैभन्दा बढी लाभ लिन्छन् लिइरहेका छन् उनीहरू नै अराजक शैलीमा एकाविहानै बार तोड्न आए, न कुनै छलफल छ न कुनै जानकारी’ अध्यक्ष कट्टेलले भने ‘यहाँका मान्छेलाई रंगशाला चाहिएको जस्तो देखिएन, हिजो घडा थापेर स्वागत गर्नेहरु आज रमिते बने ।’
त्यहाँका केही स्थानीय ठेकेदारले आफूहरुसँग निर्माण सामाग्री लिनुपर्ने, केही प्रतिशत स्थानीयलाई कमिसन दिनुपर्ने माग गर्दै साइट कार्यालयमा गई धम्की दिने गरेका छन् ।
तिनै धम्की दिने व्यक्तिहरुले नै डोजर लगाएर बार भत्काएको फाउण्डेसनका एक कर्मचारीले बताए । ती कर्मचारीले भने, ‘हामी त यहाँ बस्न सक्ने अवस्था नै छैन, सुरक्षा नै भएन ।’ रंगशाला बन्ने भएपछि सो क्षेत्रमा जग्गाको भाउ प्रति कठ्ठा ५ लाख रुपैयाँबाट ८० लाख रुपैयाँसम्म पुगेको छ ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले अराजक व्यक्तिहरुको भीडले रंगशाला निर्माणस्थलमा गराएको घटनालाई गम्भीर रुपमा लिएको बताइन् । घटनामा संलग्नलाई तुुरुन्तै पक्राउ गरी कारबाही गर्न प्रहरीलाई आग्रह गरिएको मेयर दाहालले बताइन् ।
चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले राष्ट्रिय गौरवको आयोजनाका लागि कुनै पनि सुरक्षाको कमी नहुन नदिइने बताए । उनले घटनामा संलग्नहरुलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गरिने बताए ।