इच्छाकामना ७ मा सामुदायिक स्वास्थ्य इकाई उद्घाटन

इच्छाकामना ७ मा सामुदायिक स्वास्थ्य इकाई उद्घाटन

कुरिनटार,२२ जेठ । चितवनको इच्छाकामना गाउँपालिका वडा न. ७ भालुमारा-स्याङ्दीमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले इकाईको उद्घाटन गर्नुभएको हो ।
मंगलबारै नवनिर्मित स्वास्थ्य इकाइको भवन पनि उद्घाटन गरिएको गाउँपालिका स्वास्थ्य प्रमुख धनकुमार खड्काले जानकारी दिनुभयो । गाउँपालिकाले रु १५ लाखको लागतमा भवन निर्माण सम्पन्न गरिएको हो । कार्यक्रममा स्वास्थ्य प्रमुख खड्काले स्वास्थ्य शाखाको निति तथा कार्यक्रम समेत प्रश्तुत गर्नुभएको थियो ।

४ वटा वडामा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । वडा न १, २ ३ र ७ मा इकाई स्थापना गरिएको हो । अहिले सबै वडामा स्वास्थ्य सेवा पुगेको छ । गाउँपालिकामा ५ वटा स्वास्थ्य चौकी र ४ सामुदायिक स्वास्थ्य इकाई गरि ९ ओटा स्वास्थ्य संस्था पुगेको स्वास्थ्य प्रमुख खड्काले जानकारी दिनुभयो ।

वडा न ७ का अध्यक्ष बम बहादुर थापाको अध्यक्षमा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, प्रवक्ता सावित्रि गुरुङ, अन्य जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, विभिन्न दलका प्रतिनिधि लगायत स्थानीयको सहभागिता रहेका थिए ।