ग्यास लिक भएर आगलागी हुदाँ ७ जना घाइते, तीनको अवस्था गम्भिर

ग्यास लिक भएर आगलागी हुदाँ ७ जना घाइते, तीनको अवस्था गम्भिर

वीरगञ्ज,२४ जेठ । बाराको डुमरवानामा सिलिन्डरबाट ग्यास लिक हुँदा आगलागी भएको छ । आगलागीमा परी एकै परिवारका दुई जनासहित ७ जना घाईते भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । घाईतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

आगलागीमा परी ६७ वर्षीय नजरमान थिङसहित उनकी बुहारी ३२ वर्षीया ज्ञानीमाया थिङ, ३२ वर्षीय बौद्धमान थिङ, ३२ वर्षीय अनिता थिङ, त्यसैगरी ४८ वर्षीया दिलमाया वाइबा, ५५ वर्षीया साइमाया वाइबा, ३२ वर्षीया सुकमाया वाइबा घाइते भएका हुन् ।

घाइते मध्ये दिलमाया, सुकमाया र ज्ञानीमायाको अवस्था गम्भीर छ । उनीहरुलाई सिमरा स्थित अल्पाइन अस्पततालमा सामान्य उपचारपछि थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा रिफर गरिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । अन्य घाइतेको अल्पाइन अस्पतालमै उपचार भइरहेको छ । घाइते सबैको शरीरको विभिन्न भाग र कपाल जलेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुम्बरवाना चोक स्थित स्याउली बजारमा नरजमान थिङको घरमा सिलिण्डरबाट ग्यास लिक भएको थियो । पछि ग्यास सल्काउन जाँदा आगालागी भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।