जनप्रतिनिधि र कर्मचारीलाई स्वास्थ्य सम्बन्धी अभिमुखीकरण

जनप्रतिनिधि र कर्मचारीलाई स्वास्थ्य सम्बन्धी अभिमुखीकरण

कुरिनटार,२९ जेठ । इच्छाकामनामा दुई दिने स्वास्थ्य सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।  स्वास्थ्य कार्यालय भरतपुरको  आयोजना तथा इच्छाकामना गाउँपालीका स्वास्थ्य शाखाको समन्वयमा इच्छाकामना गाउँपालिका वडा न ४ लेवाटारमा अभिमुखीकरण तालिम सम्पन्न  भएको हो ।
समापन कार्यक्रममा बोल्दै प्रशासकीय अधिकृत नरहरि सापकोटाले यस अभिमुखीकरणबाट कर्मचारी र जनप्रतिनिधिले हासिल गरेको ज्ञानलाई व्यवहारमा लागु गर्दै सबै वडाहरुमा यस्ता कार्यक्रम गाउँपालिकाले संचालन गर्नु पर्नेमा जोड दिनुभयो । महत्वपूर्ण अभिमुखीकरण तालिम आयोजना गरेकोमा जनस्वास्थ्य कार्यालय भरतपुरलाई धन्यावाद दिनुभयो ।

गाउँपालिकाकी प्रवक्ता सावित्रि गुरुङले गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा विशेष जोड दिइरहेको अवस्थामा यस अभिमूखीकरण कार्यक्रमले आगामी दिनमा थप योजना बनाउन मदत पुगेको बताउदैँ आयोजकलाई धन्यावाद दिनुभयो ।वडाअध्यक्ष गोवद्र्धन अधिकारीले स्वास्थ्य जस्तो महत्वपूर्ण विषयमा थप नयाँ ज्ञान  हासिल गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

मंगलबार र बुधबार दुई दिन चलेको तालिममा जनप्रतिनधि, कर्मचारी र विभिन्न संघसस्थाहरुको सहभागीता रहेका थिए ।स्वास्थ्य क्षेत्रमा स्थानीय तहको अधिकार र   कस्तो खालको कार्यक्रमको सम्भावना हुन्छ त उनिहरुको ज्ञान वृद्धिका लागि जनप्रतिनधि र कर्मचारीहरुलाई अभिमुखीकरण दिइएको  स्वास्थ्य कार्यालय भरतपुरका   जनस्वास्थ्य अधिकृत अनुप अधिकारीले बताउनुभयो । स्वास्थ्य कार्यालय भरतपुरले चितवनका सबै स्थानीय तहमा कार्यक्रम गरिने अधिकारीले बताउनुभयो । यस अघि माडीनगरपालिकामा कार्यक्रम सम्पन्न गरिसकेको उहाँले बताउनुभयो ।
जनस्वास्थ्य अधिकृत अनुप अधिकारी सहित,भेक्टर कन्ट्रोल रामकुमार केसी र पदमनाथ ढकालले अभिमुखीकरण दिनुभएको थियो । समापन कार्यक्रमको संचालन गाउँपालिका स्वास्थ्य प्रमुख धनकुमार खड्काले गर्नुभएको थियो ।