देवी भञ्ज्याङ विद्यालयका चेपाङ बालबालिकालाई वर्ष दिनको खाजा सहयोग
मुग्लिन, ३ असार । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना ६ मा रहेको श्री देवीभञ्ज्याङ राष्ट्रिय आधारभुत विद्यालय कालिखोलाका चेपाङ विद्यार्थीहरुलई एक बर्षका लागि खाजा र पोषाक सहयोग प्राप्त भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय भरतपुरका प्रहरी नायव निरीक्षक कृष्ण ज्यू ठकुरीको सक्रियतामा सहयोग संकल गरि सोमबार हस्तान्तरण गरिएको हो ।
लायन्स क्लब अफ बालकुमारी नारायणगढका अध्यक्ष बालगोपाल चुके, रोटर्याक्ट क्लब अफ भरतपुर, नारायणी मोटर्स नारायणगढ तथा अन्य संस्थाहरुको आर्थिक सहयोगमा विद्यार्थीहरुलाई खाद्यान्न देखी पोषाकहरु सहयोग गरिएको हो ।विद्यालयकी प्राधानाध्यापक ज्ञानु पाण्डेले यस विद्यालयमा १२० जना चेपाङ विद्यार्थीरु अध्ययनरत रहेको बताउनुभयो । गरिबिका कारण यहाँका चेपाङ बालबालिकाहरुलाई विद्यालयमा टिकाउनै गाह्रो भएको बताउनुभयो ।खाजाको व्यवस्था हुने भएपछि बालबालिकाहरु नियमित हुने प्रधानाध्यापक पाण्डेले विश्वास व्यक्त गर्नुभयो ।
सो क्रममा बोल्दै समाजसेवी चुकेले चेपाङ बालबालिकाहरुलाइ यो सहयोगले अध्ययनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि यो सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।कार्यक्रममा बोल्दै लायन्स क्लब अफ इन्टरनेशनलका भाइस डिष्ट्रिक गभर्नर रामप्रसाद भट्टले सो विद्यालयबाट उर्तीण हुने चार जना विद्यार्थीहरुलाई भरतपुरमा निःशुल्क अध्यापन गराउने प्रतिबद्धता जनाउनुभएको प्रधानाध्यापक पाण्डेले जानकारी दिनुभयो ।
यसैबीच सोही अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण समेत गरिएको छ । हर्ट फण्ड नेपालको प्राविधिक सहयोगमा मुटु रोग विशेषज्ञ डा.कौशल तिवारीले ३५ जना विद्यार्थी र २३ जना अभिभावकहरुको मुट परीक्षण गरेका थिए । उनिहरुको इको मेसिन मार्फत मुटु परिक्षण गरिएको हो । कार्यक्रममा इच्छाकामना गाउँपालिका वडा नं.५ का अध्यक्ष मोदराज सिलवाल, वडा नं. ६ का अध्यक्ष भुपेन्द्र चेपाङ, युवा व्यवसायी शेरबहादुर पौडेल, लगायतको उपस्थिती रहेको थियो ।
प्रहरी नायव निरीक्षक कृष्ण ज्यू ठकुरी डिउटीको क्रममा यस विद्यालयमा आइपुग्नुभएको थियो । सोही अवसरमा प्रअ पाण्डेले विद्यालयको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।
प्राधानाध्यापक ज्ञानु पाण्डेले विद्यालय र विद्यार्थीको बारेमा जानकारी गराएपछि ट्राफिक प्रहरी ठकुरी आफै सहयोग संकलनमा जुट्नुभएको थियो ।
खाजा र नयाँ कपडा पाएपछि बालबालिकाहरु खुशी भएका छन् ।
