डुबेको जीप र यात्रुको खोजी गर्न कुरिनटारबाट गोताखोर टोली हुम्ला प्रस्थान

डुबेको जीप र यात्रुको खोजी गर्न कुरिनटारबाट गोताखोर टोली हुम्ला प्रस्थान

कुरिनटार, ४ असार । मंगलबार कर्णाली नदीमा महेन्द्र बोलेरो जीप खसेर बेपत्ता भएकाहरुको खोजीका लागि चितवनको कुरिनटारमा रहेको शसस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालयबाट गोताखोरको टोली हुम्ला प्रस्थान गरेको छ । कर्णाली नदीको पानी चिसो र बहाव बढी भएको कारण नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीको टोलीले उद्धार गर्न नसके पछि गोताखोर टिम त्यसतर्फ प्रस्थान गरेका हुन्  । नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकोप्टरबाट आवश्यक सामाग्री र उपकरण सहित प्रस्था न गरिएको छ ।

दुर्घटना स्थलमा उद्दारका लागि तत्काल खटिएको सशस्त्र प्रहरीको बल नं. ४४ गुल्मलाई थप बलको लागि सशस्त्र प्रहरी निरिक्षक लक्ष्मण बस्नेतको नेतृत्वमा १० जना तालिम प्राप्त गोताखोरको टोली आज बिहान ९ बजेतिर नेपाली सेनाको हेलिकप्टर मार्फत हुम्ला प्रस्थान गरेको सशस्त्र प्रहरीका डिएसपी बिष्णु धितालले जानकारी दिनुभएको छ । डिएसपी धितालका अनुसार उक्त टोली ११ बजे सुर्खेत पुगि रिफुलिङ गरि त्यहाँबाट हुम्ला प्रस्थान गर्नेछ ।
सोमबार दिउसो साढे १२ बजे खार्पुबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुतर्फ जाने क्रममा बालु बिसौनी कैल्याभावालु क्षेत्रमा जीप कर्णाली नदीमा खसेको थियो । जीप कर्णाली नदीमा खसेर बेपत्ता भएपछि खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही बेपत्ता हुनु भएको छ । त्यसै गरी बेपत्ता हुने अन्यमा गाडी चालक सिमकोट आठ निवासी मणी शाही, खार्पुनाथ ४ निवासी चन्द्र हमाल, नैन सिंह भण्डारी पाँचकी वसन्ती शाही, १३ वर्षका गोकुल सुनार, नन्ददेवी सिंह खार्पुनाथ एक पिउसकी कौर दमाई र उनको नाम नखुलेको दुई वर्षको छोरा र काठमाडौ थानकोट निवासी वेल्डिङ मास्टर राजु श्रेष्ठ रहनुभएको थियो । घटनास्थलमा रहनु भएका गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताउनुभयो । जीप खसेको स्थान सडकभन्दा २५ देखि ३० मिटर तल रहेको छ । बुधबार बिहानसम्म केही पनि पत्ता लागेको छैन । जीपमा अरु पनि यात्रु हुन सक्ने तर उनीहरुको बारेमा कुनै जानकारी भएको छैन ।