सुरु भयो ठुला बैंकको मर्जर, ग्लोबल आइ.यम.इ र जनता बैंक मर्ज हुदै
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम ठूला बैंकहरुको मर्जर शुरु भएको छ । असार १४ गते राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले बैंकका अध्यक्ष र सीईओहरुलाई बोलाएर मर्जरका लागि पार्टनर खोज्न निर्देशन दिएका थिए ।
गभर्नरले निर्देशन दिएको एक सातामै दुई वाणिज्य बैंकहरुले मर्जरमा जाने औपचारिक समति नै गरेका छन् । शुक्रबार ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालले मर्जरमा जाने सहमति गरेका हुन् ।
शुक्रबार मर्जरमा जाने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको जनता बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षत्रीले जानकारी दिए । उनले राष्ट्र बैंकको योजना र आजको आवश्यकतालाई ध्यान दिदै मर्जरमा जाने निर्णय भएको बताए ।
सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका तर्फबाट अध्यक्ष केशव रायमाझीले हस्ताक्षर गरेका छन् ।
मर्जरका लागि सेयर स्वामित्वको विषयमा भने निर्णय भइनसकेको बताइएको छ । मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत कुँवर रहनेछन् भने ग्लोबल आइएमईका कार्यबाहक सीईओ महेश ढकाल डेपुटी सीईओ हुनेछन् । नाम भने ग्लोबल आइएमई नै राख्ने सहमति भएको छ ।
