एसईई गुणस्तरमा सुधार, चितवनको सामुदायिकतर्फ नारायणी र संस्थागततर्फ लिटिल फ्लावर पहिलो

एसईई गुणस्तरमा सुधार, चितवनको सामुदायिकतर्फ नारायणी र संस्थागततर्फ लिटिल फ्लावर पहिलो

–किशोर खनाल
चितवन : चितवनको २०७५ सालको एसईईको गुणस्तरमा केही सुधार आएको छ । २०७४ को तुलनामा यसपटक चितवनमा ए प्लस ल्याउने विद्यार्थी ११९ जना बढी छन् भने ए ल्याउने ८९ जना बढी छन् ।

गत वर्ष जिल्लामा ६९० जनाले ए प्लस ल्याएका थिए भने यसपटक ८०९ जनाको ए प्लस आएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख भूमिलाल सुवेदीले बताए । गत वर्ष एक हजार ८०० को ए ग्रेड आएको थियो भने यसपटक एक हजार ८८९ जनाको ए आएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइका अनुसार गत वर्ष ११ हजार ७६४ जनाले एसईई दिएका थिए । २०७५ मा चितवनबाट ११ हजार १९९ जना एसईईमा सहभागी भएका थिए । यसपटक गत वर्षको तुलनामा बी प्लस ल्याउने विद्यार्थीको संख्या पनि बढेको छ ।

‘गत वर्ष दुई हजार ४५ ले बी प्लस ल्याएका थिए, यसपटक दुई हजार २५४ जनाले बी प्लस ल्याए’, इकाइ प्रमुख सुवेदीले भने, ‘गत वर्षको तुलनामा अहिले बी ग्रेड ल्याउने विद्यार्थी पनि १३० जनाले बढेको छ ।’ प्रमुख सुवेदीका अनुसार गत वर्ष दुई हजार ३५८ जनाले बी ग्रेड ल्याए भने यसपटक दुई हजार ४८८ ले बी ग्रेड ल्याउन सफल भए ।

‘२०७५ मा एसईई गुणस्तरमा उपलब्धि देखियो, तल्लो ग्रेडको संख्या घटेको छ भने माथिल्लो ग्रेड ल्याउने संख्या बढेको छ’, प्रमुख सुवेदीले भने, ‘सामुदायिक विद्यालयको नतिजामा केही सुधार आएको छ, अझ सुधार गर्न आवश्यक छ ।’

सामुदायिकतर्फका उत्कृष्ट

सामुदायिकतर्फ भरतपुर १० मा रहेको नारायणी नमुना मावि चितवन जिल्लाकै पहिलो भएको छ । विगत एक दशकदेखि नारायणी मावि जिल्लाको पहिलो मात्र होइन, देशकै उत्कृष्ट सातभित्र परिरहेको छ । यसपटक नारायणीले समष्टि विषयगत जीपीए ३.३१ ल्याएको छ ।

विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले २८१ जनाले एसईई दिएकोमा ८० जनाको ए प्लस, ९९ जनाको ए, ५६ जनाको बी प्लस, ४० जनाको बी र ६ जनाको सी प्लस आएको बताए । उनले भने, ‘नारायणीको प्रतिस्पर्धा नारायणीसँगै हुन्छ, गत वर्षको तुलनामा यसपटक राम्रो नतिजा आयो ।’

यसपटकको एसईईमा प्रेमबस्ती मावि प्रेमबस्ती सामुदायिकतर्फ दोस्रो भएको छ । गत वर्ष पनि यो विद्यालयले दोस्रो स्थान हासिल गरेको थियो । यस विद्यालयले समष्टि विषयगत जीपीए २.९४ ल्याएको छ । १७७ जनाले एसईई दिएकामा १७ जनाको ए प्लस, ५३ जनाको ए, ५६ जनाको बी प्लस, ४१ जनाको बी, २४ जनाको सी प्लस र चार जनाको सी आएको छ ।

आदिकवि भानुभक्त मावि नारायणगढ तेस्रो भएको छ । गत वर्ष आठौँ स्थानमा रहेको भानु मावि यसपटक तेस्रो स्थानमा पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री अधिकारीले जानकारी दिए । उनका अनुसार ८१ जनाले एसईई दिएकोमा दुई जनाको ए प्लस, १८ जनाको ए, २६ जनाको बी प्लस, २८ जनाको बी, ६ जनाको सी प्लस र एक जनाको सी आएको छ । यस विद्यालयले समष्टि विषयगत जीपीए २.९ ल्याएको छ ।

गत वर्ष तेस्रो स्थानमा रहेको जनजागृति मावि पिठुवा यसपटक एक स्थान तल झरेर चौँथो भएको छ । यस विद्यालयले समष्टि विषयगत जीपीए २.८५ ल्याएको छ । १९१ जनाले परीक्षा दिएकामा १० जनाको ए प्लस आएको छ ।

यस्तै, हिमालय मावि चम्पानगर पनि एक स्थान तल झरेर चितवनको पाँचौँ भएको छ । यस विद्यालयको समष्टि विषयगत जीपीए २.८२ आएको छ । ८१ जनाले परीक्षा दिएकोमा ६ जनाको ए प्लस आएको छ ।

वैरिया मावि वैरियाले एक स्थान सुधार गर्दै छैटौँ भएको छ । गत वर्ष यस विद्यालय सातौँ भएको थियो । यस विद्यालयको समष्टि विषयगत जीपीए २.६४ आएको छ ।

गत वर्ष जिल्लामै ६६औँ स्थानमा परेको जानकी मावि मेघौली यसपटक सातौँ भएको छ । यसको समष्टि विषयगत जीपीए २.६३ आएको छ । जानकीबाट ८३ जनाले परीक्षा दिएका थिए, जसमा ५ जनाको ए प्लस आएको थियो ।

युवा मावि दिव्यनगर यसपटक जिल्लाको आठौँ भएको छ । यसले २.६० समष्टि विषयगत जीपीए ल्याएको छ ।

यस्तै, सामुदायिकतर्फ नै जनकल्याण मावि माडी जिल्लामा नवौँ भएको छ । यसको समष्टि विषयगत जीपीए २.५८ आएको छ । यस्तै, गत वर्ष एक सयभन्दामुनि रहेको साझापुर मावि साझापुर यसपटक जिल्लाको दसौँ भएको छ, जसले समष्टि विषयगत जीपीए २.५५ ल्याएको छ ।

गत वर्ष पाँचौँ भएको अन्नपूर्ण मावि पार्वतीपुर, छैटौँ भएको किरण मावि किरणगन्ज, नवौँ भएको लक्ष्मी मावि लंकू, दसौँ भएको सरस्वती मावि मधिपुरी यसपटक उत्कृष्ट दसभित्र परेनन् ।

संस्थागततर्फका उत्कृष्ट

चितवनमा यसपटकको एसईईमा संस्थागततर्फ लिटिल फ्लावर स्कुल बेलचोक पहिलो भएको छ । गत वर्ष यो स्कुल दोस्रो भएको थियो । यस स्कुलबाट १०२ जनाले परीक्षा दिएका थिए । यसले समष्टि विषयगत जीपीए ३.५१ ल्याएको छ ।

गत वर्ष पहिलो भएको सैनिक आमावि चैनपुर यसपटक दोस्रो भएको छ । सैनिकबाट १०८ जनाले परीक्षा दिएका थिए । सैनिकको समष्टि विषयगत जीपीए ३.४९ आएको छ ।

यसवर्ष एकता शिशु निकेतन रत्ननगर तेस्रो भएको छ । ६६ जनाले एसईई दिएका थिए, जसको समष्टि विषयगत जीपीए ३.३९ छ । गत वर्ष यो विद्यालय उत्कृष्ट २० भित्रमा थियो ।

यसपटक वाल्मीकि शिक्षा सदन जिल्लामा संस्थागततर्फ तेस्रो नै भएको छ । यसको पनि समष्टि विषयगत जीपीए ३.३९ छ । गत वर्ष वाल्मीकि जिल्लामा चौँथो थियो ।

सनराइज ई. बोर्डिङ स्कुल चौँथो भएको छ । यसको समष्टि विषयगत जीपीए ३.३२ छ । सनराइज गत वर्ष उत्कृष्ट १० भित्र परेको थिएन ।

सनराइज चौधरी गु्रपको स्वामित्वमा सञ्चालन भइरहेको छ । सिद्धार्थ सेकेन्डरी स्कुल बेलचोक पाँचाँै भएको छ । यसको समष्टि विषयगत जीपीए ३.३० छ । पञ्चकन्या विद्या मन्दिर रत्ननगरले पनि समष्टि विषयगत जीपीए ३.३० नै ल्याएर पाँचौँ भएको छ ।

स्मल हेभन मोडेल स्कुल आँपटारी ३.२९ समष्टि विषयगत जीपीए ल्याएर छैँटौँ भएको छ । एसओएस हर्मन माइनर सातौँ भएको छ । एसओएसले ३.२५ समष्टि विषयगत जीपीए ल्याएको छ । स्काइराइडर सेकेन्डरी स्कुल रत्ननगर पनि सोही जीपीए ल्याएर सातौँ नै भएको छ ।

स्मल हेभन आमावि कल्याणपुर र अर्किड स्कुल हाकिमचोकले ३.२२ जीपीए ल्याएर आठौँ भएका छन् । अरोमा ई. स्कुल नवौँ र पोलर स्टार बोर्डिङ स्कुल जिल्लाको दसौँ भएका छन्, जसको जीपीए क्रमशः ३.२१ र ३.१७ आएको थियो ।

‘न्यूनतम ४५ जना विद्यार्थीलाई आधार मानेर जिल्लाका उत्कृष्ट दस विद्यालय छनोट गरेका हौँ’, शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत हेमचन्द्र पौडेलले भने ।

उत्कृष्ट १० भित्र (सामुदायिकतर्फ)

१) नारायणी नमुना मावि, भरतपुर
२) प्रेमबस्ती मावि, प्रेमबस्ती
३) आदिकवि भानुभक्त मावि, नारायणगढ
४) जनजागृति मावि, पिठुवा
५) हिमालय मावि, चम्पानगर
६) वैरिया मावि, वैरिया
७) जानकी मावि, मेघौली
८) युवा मावि, दिव्यनगर
९) जनकल्याण मावि, माडी
१०) साझापुर मावि, साझापुर

उत्कृष्ट १० भित्र (संस्थागततर्फ)

१) लिटिल फ्लावर स्कुल, नारायणगढ
२) सैनिक आमावि, चैनपुर
३) एकता शिशु निकेतन, रत्ननगर
३) वाल्मीकि शिक्षा सदन, भरतपुर
४) सनराइज ई. स्कुल, भरतपुर
५) सिद्धार्थ स्कुल, बेलचोक
५) पञ्चकन्या विद्या मन्दिर
६) स्मल हेभन मोडेल स्कुल, आँपटारी
७) एसओएस हर्मन माइनर, भरतपुर
७) स्काइराइडर सेकेन्डरी स्कुल, रत्ननगर
८) स्मल हेभन आमावि, कल्याणपुर
८) अर्किड स्कुल, भरतपुर
९) अरोमा ई. बोर्डिङ स्कुल, भरतपुर
१०) पोलर स्टार ई. बोर्डिङ स्कुल, भरतपुर

(नोट : उक्त श्रेणीमा कम्तीमा ४५ जना विद्यार्थी भएको विद्यालयलाई आधार मानिएको छ ।) आजको चितवनपोष्टमा खबर छ ।