झण्डै दुई महिनापछि रंगशाला पुनःनिर्माण, खातामा शून्य मौज्दात

झण्डै दुई महिनापछि    रंगशाला पुनःनिर्माण, खातामा शून्य मौज्दात

दिपेन्द्र अधिकारी

भरतपुर  : धुर्मुस–सुन्तली फाउन्डेसनका प्रमुख सीताराम कट्टेल धुर्मुसले रंगशालामा यसअघि भएका गलत घटना बिर्सेर अघि बढ्ने प्रण गरेका छन् । उनले भनेका छन्,‘जे हुनु भयो, सबै बिर्सिएर अब पुनः निर्माण जुटौँ, त्यसैमा सबैको हित हुन्छ ।’

रंगशाला निर्माणमा अवरोध भएपछि निर्माणका सबै काम रोकिएका थिए । पुनः माहोल बनेपछि फर्कने भन्दै धुर्मुस काठमाडौंँ गएका थिए । निर्माण स्थगित भएको ५३ दिनपछि पुनः काम सुरू हुँदैछ । गत जेठ १५ गते रंगशाला निर्माणस्थलमा लगाएको बार भत्काउनका लागि केही स्थानीयले डोजर चलाएका थिए । त्यसलगत्तै काम स्थगित भएको थियो ।

अब भने कसैको पनि अवरोध नहुनेमा आफू विश्वस्त रहेको उनले बताए । ‘जसले रंगशाला भत्काउन डोजर चलाए उनीहरु नै निर्माणमा जुटेको अवस्था छ, प्रमुख कट्टेलले भने,‘सबै अविश्वास हट्यो ।’ रंगशाला बन्ने नबन्ने भन्ने आशंका रहेको अवस्थामा सोमबार भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले तोकिएको समय अर्थात् दुई वर्षभित्रै निर्माण सक्ने योजना रहेको बताए । चितवनवासी जुर्मुराए रकम संकलन र निर्माणले तीव्रता पाउने उनको भनाइ छ ।

डीपीआर बन्दै

रंगशाला निर्माणका लागि अहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम नेपाल र भारतका दुई कन्सल्टेन्सीले संयुक्त रुपमा गरिरहेका छन् । नेपालमा क्रियटिभ र भारतमा हफिस नामका कन्सल्टेन्सीले काम गरेका हुन् । रंगशाला निर्माण अवरोध हुँदा डीपीआरको काम पनि रोकिएको अध्यक्ष कट्टेलले बताए । पछिल्लो समयमा भने पुनः काम थालिएको उनको भनाइ छ ।

भदौ महिनासम्ममा डीपीआर तयार भइसक्ने यसअघि कार्यतालिका रहेकोमा अवरोधका कारण असोज महिनामा मात्र डीपीआर तयार हुने उनले बताए । साथै वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम भने अन्तिम अवस्थामा पुगेको उनको भनाइ छ ।

बोलेको रकम उठेन

भरतपुरमा धुर्मुस–सुन्तली फाउन्डेसनले तीन अर्ब लागतमा दुई वर्षभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा ०७५ माघ १६ गते काठमाडौँमा भएको थियो । त्यसै दिन र त्यसयता विभिन्न कार्यक्रम, सभा, समारोहमा रकम बोलेकोमा कत्ति पनि हात नपरेको प्रमुख कट्टेलले बताए । ६ करोड जति बोलेको रकम छ, तर रकम हात परेको छैन, उनले भने, ‘बोलेका रकम नपाउँदा डीपीआरको कामसमेत प्रभावित बनेको छ ।’ साथै उनले बोेलेको रकम दिन पनि सबैमा आग्रह गरेका छन् ।

यसबीचमा विदेश गएर कार्यक्रम गरी ल्याएको पैसाको आधारमा एक करोड ३० लाख जतिको काम भएको उनको भनाइ छ ।

अभियान चलाइने

रंगशाला निर्माणका लागि चितवनमा अभियान नै चलाइने भएको छ । जिल्लामा गठित जिल्ला सहयोग समितिकोे सचिवलायको सोमबार बिहान बसेको बैठकले स्थानीय तह, कार्यालय, विभिन्न निकाय र व्यक्तिहरुसँग सहयोगका लागि आग्रह गरिने बताए । त्यस्तै बोलेको रकम उठाउने भनी पनि निर्णय भएको समितिका संयोजक जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले बताए ।

रंगशाला निर्माणका लागि लेखा, प्राविधिक, निर्माण व्यवस्थापन, खेलकुद समिति बनिसकेको फाउन्डेसनका अध्यक्ष कट्टेलले बताए । त्यस्तै राष्ट्रिय व्यक्तित्वलाई अघि सारेर राष्ट्रिय सहयोग समिति पनि गठन गरिने भएको छ ।चितवनपोष्ट दैनिकबाट