‘दुई धार एक लहर’ मा बहेका खनाल – कृति समिक्षा

‘दुई धार एक लहर’ मा बहेका खनाल – कृति समिक्षा

`क´परिचय
‘दुई धार एक लहर’ साहित्यिक कृति केदारनाथ खनालद्वारा लिखित नियात्रा र संस्मरण सङ्ग्रह हो । यस अघि खनालको एक कविता सङ्ग्रह, एक शैक्षिक निबन्ध सङ्ग्रह, एक नियात्रा र एक संस्मरणात्मक निबन्ध सङ्ग्रह गरी जम्मा चार सङ्ग्रह प्रकाशित भइसकेका छन् । धेरैले चिन्दा केदारनाथ खनाललाई शैक्षिक व्यक्तित्वमा रूपमा चिन्दछन् । लेखक व्यक्तित्वका हिसाबले हेर्दा उनी कविका रूपमा बढी चिनिन्छन् । तथापि सङ्ख्यात्मक प्रकाशनका हिसाबले हेर्दा उनी निबन्धकार व्यक्तित्वका रूपमा स्थापित भएको पाइन्छ ।
केदारनाथ खनालको जन्म वि.सं. २००१/०७/०७ मा गोरखा जिल्लाको ताकलुङमा भएको हो । हाल यो सहिद लखन गाउँपालिकाको रूपमा नामकरण भएको छ । जन्म गोरखामा भए पनि आफ्नो कार्यक्षेत्र चितवनलाई बनाएका खनाल उच्च शिक्षामा स्नातकोत्तर व्यक्तित्व हुन् । विद्यालय शिक्षामा स्थायी सेवा गरी नारायणी मावि हालको नारायणी नमुना माविको प्रधानाध्यापक समेत भए । बालकुमारी कलेज नारायणगढमा लामो समय प्राध्यापन गरेका खनाललाई शिक्षण÷प्राध्यापन पेशाले नै लेखक बनाएको देखिन्छ ।
सहयोगी स्वभाव र हसमुख खनाल साहित्यिक व्यक्तित्वका रूपमा जति चर्चित र परिचित छन् त्यसभन्दा बढी शैक्षिक व्यक्तित्व हुन् भन्न हिच्किचाउनु पर्दैन । अर्थात् उनले जुनजुन क्षेत्रमा हात हालेका छन् सफल देखिन्छन् । चितवनको साहित्यिक वातावरणलाई जनमैत्री बनाउन उनी लामो समयदेखि चितवन साहित्य परिषद्मार्फत् निरन्तर खटिरहेका छन् । संस्थापक सचिवका रूपमा उनले पुर्‍याएको योगदान चितवनमा रहने र पुग्ने जो कोहीले पनि अनुभूत गर्न सक्दछन् ।
(ख) पुस्तक प्रवेश
‘दुई धार ः एक लहर’ साहित्यिक कृति २०७० सालमा प्रकाशित निबन्धात्मक पुस्तक हो । निबन्धभित्र पनि नियात्रा र संस्मरणको दुई पाटोलाई स्पष्ट ढङ्गले छुट्याएर राखिएको पुस्तकमा नियात्रा खण्डमा एघार र संस्मरण खण्डमा एक्काइस जम्मा बत्तीस निबन्धात्मक रचनाहरू परेका छन् । मूलतः यस पुस्तकभित्र लेखकको निजी अनुभूतिले एउटा आकार प्राप्त गरेको छ । नियात्रा र संस्मरणलाई फरक–फरक विधा सिद्धान्तका आधारमा हेर्न थालिएको वर्तमान अवस्थामा स्वभाविक रूपमा खनालको रचनाहरूले सो कुराको पुष्टि समेत रहेको छ ।
नियात्राकार र नियात्रा विशेषज्ञ निर्मोही व्यासको भूमिका लेखनीबाट पनि त्यो कुराको पुष्टि भएको छ । नेपाली विषयको प्रध्यापनमा लागेर एउटा उचाइ हासिल गरिसकेका निर्मोही व्यास र कपिल अज्ञातको गहन भूमिका लेखन र गायत्री श्रेष्ठ अनि गोविन्दराज विनोदी जस्ता साहित्यिक व्यक्तित्वहरूको प्रकाशकीय र छोटो टिप्पणीहरूले पनि उनको लेखनीलाई गोडमेल गरेको प्रष्ट हुन्छ ।
अ) नियात्रा खण्डमा रहेका जम्मा एघार ओटा निबन्धात्मक ÷ नियात्रामूलक लेखमा धेरै लेख नेपालभित्रको यात्राको सुन्दर वर्णनमा खर्च भएको छ भने छिमेकी देश भारतको सांस्कृतिक र धार्मिक यात्राको सन्दर्भलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । नियात्रामा मूलतः पाठक पनि पठनसँगै त्यहाँ पुगेको अनुभूत हुनुपर्दछ । त्यसमा भने केही प्रस्तुतिगत कुराहरू पाठकलाई खड्किन्छ नै । पहिलो नियात्रा लेखमै यो ठाउँठाउँमै खड्किएको देखिन्छ । तथापि यसलाई अन्य हिसाबले रौं चिरा विश्लेषण नगर्ने हो भने यात्रानुभूति प्रदान गर्नुबाहेक पनि सूचना र अनुभूतिको झलक यसमा राम्ररी भएको छ । ‘मनको धोको मनैमा’, ‘थप एक आयाम’ जस्ता लेखहरूले भने सङ्क्षिप्त प्रस्तुतिमा स्थानीय परिवेश र लेखक स्वयम्लाई थप चिनाएको छ । लेखक तरङ्गी खालको भयो भने मात्रै पाठक नियात्राबाट बढी लाभान्वित हुन सक्छ । लेखक समालोचक जस्तो बढी बौद्धिक र गहन सोचमग्न भएका कारण पनि यस्तो स्थिति आएको हुन सक्छ । यसका अलवा ‘एक अलौकिक यात्रा’, ‘मेलम्ची – एक मृगमरीचिका’ जस्ता नियात्राहरूमा पनि लेखक राम्ररी पोखिन नसकेको जस्तो लाग्छ ।
समग्रमा व्यक्तिगत दुःख र सुखको गहिरो अनुभूतिशील विचार चेतन प्रवाह शैलीमा प्रस्तुत निबन्धात्मक लेखन नभए त्यो पाठक अभिमुख हुन सक्दैन । एउटा विषय–सन्दर्भ र परिवेश विशेषले पूरै आकर्षित गर्ने हिसाबले मात्र लेखन केन्द्रित हुनु पर्दछ । यी केही लेखहरूलाई नियात्रा नभनेर संस्मरणात्मक लेखकै रूपमा रहन दिएको भए राम्रो हुन्थ्यो कि भन्ने सानो क्षितिजमा हराएको पङ्तिकारको प्रतिक्रिया हो । त्यति मात्र होइन लेखकले प्राप्त गरेको समय र प्रस्तुतिलाई हेर्दा लेखक खनालको एउटा चित्रमय वर्णन हृदय छुने र सूचना भण्डारको रूपमा रहेको छ । लेखक ठाउँठाउँमा मिल्दा लोकोक्ति मात्र होइन विविध खालको उदाहरण लोकलयात्मक उच्छ्वास समेत प्रस्तुत गर्दछन् जो पाठकले एकचोटि पुनः सोच्ने र रोकिने स्थान पनि हो । आजको मितिमा दैनान्दिन बजारीकरण भएको हाम्रो यात्रा सांस्कृतिक विकृतिमा जाकिएको छ । यस्तो अवस्थामा हाम्रो मौलिक कर्मका रूपमा रहेको लुतो फाल्ने परम्परालाई लेखकले एकदमै आकर्षक विधिशास्त्रीय हिसाबले प्रस्तुत गरेका छन् । त्यति मात्र होइन लेखक यात्रामा उत्साहित र आलोचक दुवै भएका छन् ।
आ) संस्मरणात्मक खण्डमा जम्मा २१ ओटा लेख परेका छन् । यस खण्डमा लेखकले स्थानीय शिक्षासेवी केशव न्यौपानेदेखि नेपाली साहित्यमा अनौठो क्षमता प्रदर्शन गर्ने साहित्यिक व्यक्तित्व झमक घिमिरेसम्मको प्रसङ्ग उल्लेख गरिएको छ । यसैबीचमा चिनिएका तीन विशिष्ट व्यक्तित्व प्रा. आनन्ददेव भट्ट, दैवज्ञराज न्यौपाने, दहाल यज्ञनिधिको समेत विशेष सम्झना गरिएको छ । लेखकले अधिकांश लेख व्यक्ति केन्द्रित समीक्षामा खर्च गरेका छन् । स्थान विशेषमा पञ्चकन्या, गोरखा र हेटौडा जस्ता ऊर्जा दिने स्थानको चर्चा गरिएको छ । नियात्रा खण्डमा भन्दा संस्मरण खण्डमा लेखक सजिलो गरी पोखिएको पक्का हो ।
आफूभन्दा अग्रजलाई सम्झने र सम्मान गर्ने क्रममा लेखकले प्रा. आनन्ददेव भट्ट, गोविन्द भट्टराई, कृष्णचन्द्रसिंह प्रधान, ताना शर्मा आदिको नाम आदरपूर्वक उठाएका छन् । प्रा. आनन्ददेवले चितवनको शैक्षिक र साहित्यिक वातावरण निर्माण गर्नमा अत्यन्त महत्वपूर्ण भूमिका खेलेको प्रस्तुत लेखमा उल्लेख छ । लेखक ठूला कुरामा होइन साना–साना तर अत्यन्त महत्वपूर्ण विषयमा ऐतिहासिक दस्तावेज लिएर देखा परेका छन् । उनको यो लेख÷संस्मरण स्वयम्मा एउटा इतिहास सम्बद्ध सामग्री हो । एकातिर उनी झमक घिमिरेलाई सम्मान गर्ने अवसर पाएकोमा गौरवबोध गर्दछन् भने सँगै विविध संस्थागत प्रयासलाई आफ्नो ऐतिहासिक दस्तावेजमा समावेश गर्न भ्याउँछन् ।
समय–समयमा भएका साहित्यिक र शैक्षिक विशेष घटना र विशेष व्यक्तित्वलाई आफ्नो कोणबाट सम्झने र सम्मान गर्ने काम कृतिभरि नै भएको छ । अझ यसको अतिरिक्त लेखकले घटनालाई केन्द्रमा राखिएको लेख र व्यक्तिलाई केन्द्रमा राखिएको लेख फरक खण्डमा लहर मिलाएर राखेको भए भन्ने त लाग्छ नै ।
निष्कर्ष ः
केदारनाथ खनाल चितवनको साहित्यिक अभियन्ता मात्र नभएर शैक्षिक क्षेत्रमा स्थापित व्यक्तित्व हुन् । उनले गरेका निरन्तरको साधनाले पछिल्लो पुस्तालाई ऐतिहासिक काम गर्न उत्प्रेरित गर्दछ । पचहत्तर वर्षको जीवन पनि सक्रिय रूपमा लेखन–पठन र सामाजिक सेवामा बिताइरहेका यस्ता व्यक्तित्वको समग्र कृतिको समीक्षा, समालोचना हुन जरुरी छ । कम्तिमा विद्वान्हरूले लेखेका पुस्तक पछिल्लो पुस्ताले पढ्ने मात्र हो भने पनि नेपाली मौलिक संस्कार र संस्कृतिमा योगदान दिनेहरूको कदर हुनेछ । सरल, स्पष्ट र सङ्क्षिप्त शैलीमा निबन्धात्मक लेख सिर्जना गर्ने खनालको लेखनले वर्गीय पक्षधरता भन्दा तटस्थतालाई बढी ख्याल गरेको प्रष्टै छ । समग्रमा प्राज्ञिक र सामाजिक पाटोलाई दुई धारको रूपमा हेर्न सकिन्छ भने निरन्तर खटिरहने व्यक्तित्व समष्टि एक लहर बनेको छ । अस्तु

समिक्षक  तेजविलास अधिकारी