पोखरा घुम्न गएकी विद्यार्थीलाई बन्दी बनाई शिक्षकले गरे बलात्कार

पोखरा घुम्न गएकी  विद्यार्थीलाई बन्दी बनाई शिक्षकले गरे बलात्कार

कास्की  : पोखरामा शिक्षकबाट एक जना विद्यार्थी बलात्कृत भएकी छन् । उदयपुरको म्यारिगोल्ड सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक राकेश कुमार कानोडियाले १४ वर्षीया बालिकालाई घुमाउन भन्दै पोखरा लगी बलात्कार गरेका हुन्।

भ्रमणका लागि भन्दै ८ दिनदेखि पोखराको द कन्ट्री यार्ड होटलमा बन्धक बनाएर उनले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए।

उनका अनुसार मोरङ बिराटनगर घर भएका शिक्षक कानोडियाले मोवाइल खोसेको र परिवारसँग पनि सम्पर्क हुन नदिई बन्धक बनाएको पाइएको छ। बालिका हराएपछि परिवारले प्रहरीमा खबर गरेका थिए। खोजतलासका क्रममा कास्की प्रहरीले उनलाई मंगलबार पोखरामा फेला पारेको हो।

उदयपुर चौदण्डी नगरपालिका ७ बस्दै आएका २८ वर्षीय शिक्षकले यतिबेला पोखरा भ्रमण गरेपछि परीक्षामा पनि सहज हुने र शैक्षिक भ्रमणमा पनि जानु नपर्ने भन्दै लगेका थिए। बालिकालाई बुधबार परिवारको जिम्मा लगाइएको र बलात्कारी शिक्षक पक्राउ गरिएको प्रहरीले जनाएको छ।