जब अन्तिम संस्कारमा शिशु चलेपछि पुनः उपचारका लागि अस्पताल भर्ना

जब अन्तिम संस्कारमा शिशु चलेपछि पुनः उपचारका लागि अस्पताल भर्ना

दिपेन्द्र अधिकारी
चितवन : मृतक भनी देवघाटमा अन्तिम संस्कारका लागि लगिएकी एक नवजात शिशु चलमलाएपछि उनलाई पुनः उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

सँगै जन्मिएका अर्की शिशु भने गाडिसकेको अवस्थामा देवघाटमा स्थानीयले देखी प्रहरीलाई खबर गरेपछि पोष्ट मार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ । साउन २४ गते देवघाटबाट जीवित र मृतक दुवै शिशुलाई फिर्ता ल्याइएको हो । गर्भ रहेको सात महिनाको समयमा जुम्ल्याहा शिशुको जन्म भएको थियो ।

यस घटनामा आरोपित भन्दै शिशुका बुबा, फुपूदिदी र थप एक व्यक्ति पक्राउ भएका छन् । घटना भएको पुष्टि गरे पनि चितवन प्रहरीले पक्राउ भएका व्यक्ति र परिवारबारे सार्वजनिक गरेको छैन । १२ सय ग्राम र सात सय ग्रामका दुइटा शिशुको चितवन मेडिकल कलेजमा साउन २३ गते शल्यक्रिया गरी जन्म भएको थियो । स्वस्थताका हिसाबले दुवै शिशु कमजोर रहेकामा १२ सय ग्रामको शिशुको मृत्यु भएको र सात सय ग्रामको भने अवस्था गम्भीर भनी अस्पताल प्रशासनले घर पठाएको प्रहरी स्रोतले जनाएको छ ।

यस घटनामा परिवारको कुनै गलत मनशाय नभएको भन्दै आफन्तजनले प्रहरीको ध्यानाकर्षण गराएका छन् । ‘आफ्नो सन्तानलाई मारौँ भन्ने कसैको चाहना हुन्न’, एक आफन्तले शनिबार प्रहरी कार्यालयमा भने ।

भरतपुर २५ की एक महिलाले दुई छोरीहरु एकसाथ जन्माएकोमा चितवन मेडिकल कलेजले गम्भीर अवस्था भनिएकी एक शिशुलाई अन्य व्यक्तिबाट दूध खुवाउनका लागि घर पठाएको थियो । ती शिशुको घरमा मृत्यु भयो भनी देवघाट अन्तिम संस्कारमा लगेकोमा शिशुले सास फेरेको थाहा पाई पुनः चितवन मेडिकल कलेजकै सीसीयू कक्षमा राखी उपचार थालिएको चितवन प्रहरीले जनाएको छ ।

एक शिशुको भने अस्पतालमा नै मृत्यु भई डेथ सर्टिफिकेट समेत पाएको शिशुका आफन्तले जनाएका छन् । मृत्यु भएको भनिएकी शिशुलाई पनि प्रहरीले गाडेको अवस्थाबाट निकाली हाल पोष्ट मार्टमका लागि भरतपुर अस्पतालमा राखेको छ ।

दुई महिनाअघि मात्रै चितवनमै अन्तिम संस्कारका लागि देवघाट लगिएका एक बालक पुनः चल्मलाएपछि फर्काइएको थियो । आजको चितवनपोष्टमा खबर छ ।