चितवनमा आज निक्ल्यो यस्तो र्याली, ‘चितवन सुरक्षित छ’
चितवन : ‘चितवन सुरक्षित छ’ भन्दै होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले बिहान शान्ति र्याली निकालेको छ । चितवनको पछिल्लो घटनाक्रमले देशभर नकारात्मक सन्देश गएकोले त्यसलाई चिर्न र्याली निकालिएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष दिपक ढकालले जानकारी दिए ।
साउन २० गते नारायणगढको पोखरा बसपार्कमा रहेको कंगारु होटलमा पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा फेला परे पछि सामाजिक सन्जालमा चितवन सुरक्षित छैन भन्ने अफवाह फैलिएकोले त्यसलाई चिर्न आज (सोमबार) शान्ति र्याली निकालिएको ढकालले बताए । ‘पछिल्लो घटना पछि सामाजिक सन्जाल मार्फत चितवन सुरक्षित छैन भनेर जुन अफवाह फैलिएको छ त्यसैलाई चिर्न हामीले शान्ती र्याली निकालेका हौ – उनले भने ।’
उनले चितवन सुरक्षित रहेको र यहाँका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरु पर्यटकलाई स्वागत गर्न सधैं तयार रहेको बताए । उनले चितवनका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरु आफ्नो पाहुनालाई सुरक्षित रुपमा राख्न प्रतिवद्ध रहेको पनि बताए । सामाजिक सन्जालमा भनिएको जस्तो चितवन असुरक्षित भन्ने केबल हल्ला मात्र भएको भन्दै त्यस्ता हल्लाको पछि नलाग्न पनि उनले आग्रह गरे । उनले प्रशासनलाई पनि शान्ति सुरक्षामा ध्यान दिन आग्रह गरे ।
यस्तै उनले पुडासैनी आत्माहत्या प्रकारणको निष्पक्ष छानबिनको माग गरेका छन् । घटनाको दोषी छिट्टै पत्ता लगाई कडा भन्दा कडा कारबाही गर्न सम्पूर्ण होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुको माग रहेको उनले बताए । पोखरा बसपार्क नारायणगढबाट निस्किएको शान्ति र्याली पुलचोक, चौविसकोठी हुँदै केन्द्रिय बस टर्मिनल भरतपुर पुगी फेरी चौविसकोठी पुगेर समापन भएको ढकालले जानकारी दिए ।
