रविको समर्थनमा भएको प्रदर्शनमा पक्राउ परेका ४८ प्रदर्शनकारी रिहा

रविको समर्थनमा भएको प्रदर्शनमा पक्राउ परेका ४८ प्रदर्शनकारी रिहा

चितवन टेलिभिजा कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीन जनाको पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका ४८ प्रदर्शनकारीलाई आज छाडिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आज बिहानदेखि आफन्तको जिम्मामा उनीहरुलाई छाड्न सुरु गरिएको हो । धरौटीमा रिहा भएकै भोलिपल्ट रविले आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै आफ्नो बारेमा विभिन्न मिडियामा आएका टिकाटिप्पणीबारे आफ्नो धारणा स्पष्ट पारेका थिए । पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले भने, ‘मेरो समर्थनमा चितवनमा उत्रिएको आमसमुदायको सशक्त प्रदर्शनले मलाई थप जिम्मेवार बनाएको छ । म भविष्यमा पनि नागरिकका आवाजहरुलाई आफ्नो कार्यक्रममा सशक्त ढंगले उठाउने छु । ’ उनले आफ्नो बारेमा उठेका विभिन्न नकारात्मक टिकाटिप्पणी गलत भएको बताएका छन् । उनले भने, ‘बाटोमा चप्पल लगाएर हिड्ने, दुःख पाएर हिड्ने मानिसहरुको आवाज बोलिदिएकोले नै मैले नागरिकको माया पाएको छु । मेरो राजनीतिक र आर्थिक लाभ लिने अन्य कुनै स्वार्थ छैन ।’

पत्रकार सम्मेलनमा उनले अदालतको आदेश शिरोधार्य गर्दै अगाडि बढ्ने बताए। यस क्रममा आफूलाई साथ र सहयोग गर्ने सबैप्रति धन्यवाद दिँदै उनले भविष्यमा राजनीतिमा लाग्न बाटो नरोकिएको विचार राखे । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका लामिछानेसहित तीनै जना सोमबार धरौटीमा रिहा भएका हुन् । सो मुद्दाको थुनछेक बहसका क्रममा सोमबार लामिछानेलाई पाँच लाख, युवराज कँडेललाई रु तीन लाख र अस्मिता भनिने रुकु कार्कीलाई शुद्ध तारेखमा अदालतले छाडेको थियो । उनीहरुको आगामी असोज ५ गते तारेख तोकिएको छ ।