इच्छाकामनामा लामखुट्टेको बृद्धि विकास हुने स्रोतको खोजी नष्ट गर अभियान सुरु

इच्छाकामनामा लामखुट्टेको बृद्धि विकास हुने स्रोतको खोजी नष्ट गर अभियान सुरु

कुरिनटार, १९ भदौ । चितवनको इच्छाकामनामा लामखुट्टेको बृद्धि विकास हुने स्रोतको खोजी नष्ट गर अभियान सुरु भएको छ ।

इच्छाकामना गाउँपालिकामा पनि लामखुट्टेको टोकाइ बाट हुने डेंगुको प्रकोप फैलिएपछि जनचेतनामुलक घरदैलो कार्यक्रम सहित लामखुट्टेको बृद्धि र विकास हुने स्रोतको खोजी गरि नष्ट गर्न थालिएको हो ।
गाउँपालिका स्वास्थ्य प्रमुख धनकुमार खड्काले इच्छाकामना गाउँपालिकामा अहिले सम्म ७ जनामा डेँगु संक्रमण देखिएको बताउनुभयो । वडा न ३ चुम्लिङटार र वडा न ५ मुग्लिनमा संक्रमित भेटिएको हो ।

अहिले सम्म डेङ्गु र स्क्रबटाइफसबाट भरतपुर चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकसहित चारजनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार पछिल्लो पटक गैँडाकोटका २८ वर्षीय युवतीको स्क्रबटाइफसबाट पुरानो मेडिकल कलेज र अन्य तीन जनाको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

जसमध्ये गैँडाकोट स्थायी घर भई नारायणगढ बसोवास गर्ने ७१ वर्षीय वृद्धको डेङ्गुको कारण मृत्यु भएको हो । रौतहटबाट उपचारका लागि आएका ३४ वर्षीय पुरुषको स्क्रबटाइफस र शुक्रनगरकी १६ वर्षीया किशोरीको डेङ्गु र स्क्रबटाइफस सङ्क्रमणको कारण मृत्यु भएको केसीले जानकारी दिनुभयो ।

दुवै रोगको सङ्क्रमण बढ्दो छ । जिल्लाका अस्पतालमा साउनयता एक हजार ९०८ जनाको डेङ्गु परीक्षण गर्दा ६२३ जनामा सङ्क्रमण देखिएको केसीले बताउनुभयो । जसमध्ये ४५५ जना चितवनका रहेका छन् । यसमध्ये पनि ४१४ जना भरतपुर महानगरपालिकाका रहेको उहांँको भनाइ थियो ।