खाजा कार्यक्रम संचालनपछि चेपाङ बालबालिका नियमित आउन थाले विद्यालय

खाजा कार्यक्रम संचालनपछि  चेपाङ बालबालिका नियमित आउन थाले विद्यालय

मुग्लिन,८ कात्तिक । चितवनको इच्छाकामना गाउँपालिका– ६ मा रहेको देवीभञ्ज्याङ राष्ट्रिय आधारभूत विद्यालयको अवस्था हिजो आज बदलिएको छ । कक्षा १ देखि ५ सम्म पढाइ हुने यस विद्यालयमा बालबालिका भरिभराउ हुन्छन् । यहाँ दैनिक ८० देखि १०० सम्म विद्यार्थी विद्यालय आउने गर्छन् ।

गत वर्ष ३५ देखि ४० जनाको हाराहारीमा विद्यार्थी नियमित आउने गरेकामा गत असारदेखि भने नियमित आउने विद्यार्थीको सङ्ख्या बढेको हो । विद्यालयमा खाजाको व्यवस्था भएपछि विद्यार्थी नियमित आउने गरेको विद्यालयका प्रधानाध्यापक ज्ञानु पाण्डेले बताउनुभयो ।

उहाँलाई मध्यान्तरमा शिक्षकहरुले खाजा खाँदा बालबालिका भने झ्यालबाट टुलुटुलु हेरेको दृश्य दुःखलाग्दो क्षण बन्थ्यो तर शिक्षकहरुले दैनिक बालबालिकालाई खाजा खुवाउन सक्ने स्थिति पनि थिएन ।

दुई घण्टासम्म हिँडेर विद्यालय आउनुपर्ने तर दिनभर खाजा खान नपाउँदा चेपाङ बालबालिकाहरु अध्ययनरत यस विद्यालयमा विद्यार्थी नियमित हुन सकेका थिएनन् । प्रधानाध्यापक पाण्डेलाई विद्यार्थीलाई कसरी नियमित गराउने भन्नेमा चिन्ताले सताउँथ्यो । उहाँले विद्यालयको दयनीय अवस्थाबारे सँगै क्याम्पस पढेका साथी कृष्ण ठकुरीलाई बताउनुभयो ।

भरतपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक ठकुरीले विद्यालयको अवस्थाबारे अनुगमन गरेपछि चिनजान भएको नारायणगढस्थित लायन्स क्लब अफ बालकुमारीका अध्यक्ष बालगोपाल चुकेलाई त्यस विषयमा जानकारी गराउनुभयो । त्यसपछि सहयोग जुट्ने क्रम शुरु भयो ।

अध्यक्ष चुके, रोट्र्याक्ट क्लब अफ भरतपुर, नारायणी मोटर्स नारायणगढ तथा अन्य संस्थाहरुको आर्थिक सहयोगमा विद्यार्थीलाई एक वर्षका लागि खाजाको व्यवस्था गर्ने चाँजोपाँजो मिलाइयो । गत असारदेखि खाजाको व्यवस्था गरिएकाले बालबालिका नियमित विद्यालय आउन थाले । खाजा कार्यक्रम घोषणासँगै उनीहरुले शैक्षिक सामग्री पनि उपलब्ध गराएका थिए ।

यस शैक्षिकसत्रमा विद्यालयमा १२० बालबालिका भर्ना भएका छन् । घरदेखि विद्यालयको दूरी टाढा हुनु र गरीबीका कारण चेपाङ बालबालिका नियमित विद्यालय आउन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर चेपाङले बताउनुभयो ।

यहाँका चेपाङ समुदायलाई बिहान–बेलुका छाक टार्नै मुस्किल भएकाले खाजाको व्यवस्था गर्न नसक्दा बालबालिका विद्यालयमा नियमित हुन नसकेको उहाँको भनाइ थियोे ।

चितवनको एक मात्र उक्त गाउँपालिका भौगोलिक दृष्टिकोणले विकट भएकाले यहाँका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई टिकाउनै मुस्किल पथ्र्यो । सरकारले ल्याएको दिवा खाजा कार्यक्रमले निरन्तरता नपाउँदा विद्यार्थी स्कूल जान पनि छाडेका थिए ।रासस