किसानहरुको गुनासो आएपछि इच्छाकामनाका एग्रोभेट पसलहरुमा पहिलोपटक अनुगमन

किसानहरुको  गुनासो आएपछि  इच्छाकामनाका एग्रोभेट पसलहरुमा पहिलोपटक अनुगमन

कुरिनटार,२०कात्तिक । चितवनको राजमार्गका एग्रोभेटका संचालकहरुलाई सचेत गराइएको छ । पृथ्वीरामार्ग अन्तरगतको चितवनको इच्छाकामना गाउँपालिकाको मुग्लिन देखि फिस्लिङ सम्म संचालनमा रहेका एग्रोभेट पसलहरुले औषधी तथा विउविजनमा चर्को मूल्य लिने गरेको किसानहरुबाट गुनासो आएपछि जिल्ला प्रशासन कार्याल चितवन, कृषि ज्ञान केन्द्र र उपभोक्ता अधिकार मंचले संयुक्त रुपमा बुधबार अनुगमन गरि सचेत गराइएको हो ।
अनुगमनका क्रममा विषादी र विउविजन प्रचलित मुल्य भन्दा चर्कोे मूल्यमा विक्री गर्नुका साथै स्थानीय तहमा व्यवसायी दर्ता नगरेको, विषादी इजाजत पत्र नलिईकन विक्री वितरण गरिएको,म्याद सकिएको विउविजन र विषादी एकै ठाउँमा राखिएको, विषादी लिक भई पसल र वरपर दुर्गन्धित रहेको र नेपालमा दर्ता नभएको विउविजनसमेत विक्री वितरण गरिएको भेटिएको कृषि ज्ञान केन्द्र चितवनका कृषि अर्थविज्ञ कमला न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार किसानहरुलाई विषादी बिक्रीसंगै प्रयोग गर्ने विधि र विषादी दुरुपयोगले हुने वातावरणीय तथा मानवीय स्वास्थ्यमा पर्ने असर बारे उचित सल्लाह नदिने गरेको समेत पाइएको छ ।

अनुगमनको क्रममा केही एग्रोभेट हरुले म्याद सकिएको विषादी र नेपाल सरकारबाट मान्यता नदिएको चाईनिज कम्पनीको विउविजन विक्री वितरण गरिएको भेटिएको न्यौपानेले बताउनुभयो । पसलमा विषादी गन्ध आएकोल मानव स्वास्थ्यमा असर पुग्ने भन्दै तत्काल लिक भएका विषाधी हटाउन सुझाव दिएका छन् ।
एउटा एग्रोभेट भने गोरखामा दर्ता भई चितवनमा संचालन गरिएको भेटिएको छ । चितवनमा नै दर्ता गरि संचालन गर्न सुझाव दिइएको छ ।
न्यौपानेले पहिलो पटकको अनुगमन भएकाले सचेत मात्र गराइएको जानकारी दिनुभयो ।
अनुगमनलाई निरन्तरता दिने र यस्ता कमीकमजोरी पुन भेटिएमा कारबाहीको दायरमा ल्याइने चेतावनी सहित सचेत गराईएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताउनुभयो ।

इच्छाकामना गाउँपालिकाका प्रशासकीय अधिकृत सुकदेव लम्सालले व्यवसायी दर्ताका लागि एग्रोभेटहरुलाई बारम्बार आहवान गरिए पनि अधिकांश एग्रोभेटहरुले गाउँपालिकामा व्यवसाय दर्ता नगरिएको बताउनुभयो । उहाँले एग्रोभेट लागयत अन्य सबै व्यावसायीहरुको दर्ताका लागि घुम्ति शिविर नै संचालन गर्ने तयारी भईरहेको बताउनुभयो ।
चितवनको इच्छाकामना गाउँपालिकाको राजमार्गमा रहेका ८ वटा एग्रोभेटहरुमा अनुगमन गरिएको थियो ।
इच्छाकामना गाउँपालिका अन्तरगत राजमार्गमा पर्ने मुग्लिन, कुरिनटार चुम्लिटार फिस्लिङका एग्रोभेटहरुमा चितवन सहित गोरखा र धादिङका किसानहरुले विउविजन तथा विषादी किन्ने गर्छन् ।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत दिवाकर पौडेल, उपभोक्ता अधिकार मंच चितवनका उपाध्यक्ष विष्णु प्रसाद भुषाल,इच्छाकामनागाउँपालिकाका प्रशासकीय अधिकृत सुकदेव लम्साल, कृषि शाखाका आन्नद प्रसाद घिमिरे, विषादी विज्ञ पत्रकार लगायतको सहभागीतामा अनुगमन गरिएको थियो ।