हिरासतमै सेनाका जवान मृत्यु प्रकरण: प्रहरी जवान ढकाललाई पाँच दिन हिरासतमा राखिने

हिरासतमै सेनाका जवान मृत्यु प्रकरण: प्रहरी जवान ढकाललाई पाँच दिन हिरासतमा राखिने

मुग्लिन : नेपाली सेना मृत्यु प्रकरणमा मुछिएका प्रहरी जवान ठाकुर ढकाललाई जिल्ला अदालत चितवनले आज पाँच दिनका लागि म्याद थप गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख दानबहादुर मल्लका अनुसार ढकाललाई आज थप अनुसन्धानका लागि पाँच दिन समय थप गरिएको हो ।

मृतक राम कँडेलका परिवारको किटानी जाहेरीका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले अनुसन्धानलाई असहज हुने भन्दै मुद्दा प्रक्रिया टुङ्गो नलागेसम्म निलम्बन गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतबाट पाँच दिनका लागि समय थप गरिएको हो । ढकालविरुद्ध मृतक कँडेलका परिवारले हत्याको अभियोगमा आइतबार उजूरी दर्ता गराएको थियो ।

ईच्छाकामना गाउँपालिका–३ फिस्लिङमा रहेको अस्थायी प्रहरी चौकीबाट हामफालेर मृत्यु भएका भनिएका नेपाली सेनाका जवान कँडेलका परिवारको किटानी जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको थियो । ईच्छकामना–५ निवासी २८ वर्षीय कडेँलको फिस्लिङमा रहेको अस्थायी प्रहरीचौकीमा राखिएका समयमा आइतबार बिहान बरण्डाबाट हामफालेर अचेत अवस्थामा भेटि उपचारका लागि लैजादैँ गर्दा बाटैमा मृत्यु भएको प्रहरीले दावी गरेको छ । तर मृतकका आफन्तले कुटपिट गरेर कँडेलको हत्या गरिएको दाबी गर्दै आन्दोलन गरिरहेका छन् । पोष्टमार्टम रिर्पोट चित्तबुझ्दो नभएपछि आज पनि दिउँसो दुई घण्टा सवारी जाम गरि प्रदर्शन गरेका थिए ।